थारु समुदायमा माघी पर्वको रौनक, जताततै मेला महोत्सव



कैलाली : सुदूरपश्चिमका थारू समुदायमा माघीको उत्सव सुरु भएको छ । थारू समुदायमा व्यवस्था परिवर्तनसँगै माघी पर्व मनाउने तरिका पनि फेरिदै गएको छ । 

परापूर्वकालदेखि माघीलाई नयाँ वर्षको रुपमा मनाउने कैलाली, कञ्चनपुरका थारू समुदायले माघीमा मेला र महोत्सव आयोजना गरी माघी मनाउन थालेका छन् । 

घरघरमा गई मान्यजनको आशिर्वाद लिएर मनाइने माघीमा थारू समुदायले सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन र विकासका लागि माघी मेला, माघी महोत्सव र माघी मिलन सहमारोह आयोजना गर्न थालेका हुन् ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया धार्मिक संरक्षण मञ्च र क्षेत्र विकास समितिको आयोजनामा शुक्रबारदेखि माघी मेला शुरु भएको छ । 

मेलामा मूल आकर्षणको रुपमा थारू नाच, खानाका परिकार, प्रदर्शनी, थारू गाउँ, थारू समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएको सामाग्रीहरू, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहेका छन् । 

बंगराको माघी मेला प्रवक्ता चौधरीले मेलामा थारू संस्कृतिको प्रदर्शनीका साथै स्थानीय कृषि उत्पादनको प्रदर्शनीसमेत रहने बताए ।

थारू समुदायले पुस मसान्तदेखि माघको पहिलो सातासम्म माघी पर्वका लागि सबै तयारी पुरा गरिसक्छन् । माघको एक सातामा योजना तर्जुमा गरी उनीहरू काममा फर्किने गर्छन् । 

काम गर्दै जाँदा माघीमा बनाएको नियम प्रयोगात्मक नभएमा, कुनै अर्को नियमसँग बाँझिएमा वा कसैको चित्त नबुझेमा भल्मन्साद्वारा विशेष बैठक बोलाएर छलफल गर्ने र संशोधन गर्ने चलन थारू समुदायमा छ ।

 

प्रतिक्रिया दिनुहोस्