बेरोजगार प्राविधिक जनशक्तिलाई स्वयंम सेवकमा परिचालन गरिने



सुर्खेतः कर्णाली प्रदेश सरकारले प्राविधिक जनशक्तिलाई स्वयंम सेवकका रुपमा परिचालन गर्ने भएको छ । प्रदेशको आवश्यकताका आधारमा बेरोजगार रहेका प्राविधिक जनशक्तिलाई प्रदेश विकासका लागि स्वयंम सेवकका रुपमा परिचालन गर्न लागेको हो । 

 

सामाजिक विकास मन्त्रालयले प्रदेशभरी दुईसय २९ वटा स्वयंसेवक परिचालन गर्न लागेको हो । मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको ‘कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधी’ बिहीबारको बैठकले स्वीकृत गरेको छ ।

 

 ३३ औं मन्त्रीपरिषद् बैठकबाट विधेयक स्वीकृत भएसँगै अब मन्त्रालयका तर्फबाट स्वयंसेवक परिचालनका लागि आवश्यक गतिविधि गर्ने बताइएको छ । 

 

प्रदेशमा रहेका प्राविधिक विषय अध्ययन गरेका बेरोजगार युवा र प्राविधिक क्षेत्रमा अभाव रहेको जनशक्तिलाई मध्यनजर गर्दै स्वयंसेवक परिचालन गर्न लागिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

 

विशेषगरी निर्माण, कृषि, शिक्षा, स्वास्थ्यलगायतका विषयसँग सम्बन्धित प्राविधिकहरू स्वयंसेवकका रूपमा खटाइने भएको छ । यो वर्ष खटाइने स्वयंसेवकहरू यसअघि राष्ट्रिय योजना आयोगको कार्यक्रमअनुसार रहने मन्त्री रावलले जानकारी दिए । नेपाल सरकारको सशर्त अनुदानबाट प्रदेश सरकारले केही व्यवस्थित गरेर यो वर्ष प्राविधिक खटाइने भएको छ । 

 

मन्त्रालयकाअनुसार अहिले कर्णाली प्रदेशमा ९९ जना विभिन्न क्षेत्रका स्वयंम सेवक कार्यरत छन् । प्रदेशमा जम्मा स्वयंम सेवकको कोटा २२९ रहेको छ । कोटाअनुसार अब प्रदेश सरकारले यस कार्यक्रम अन्तर्गत १ सय ३० जना प्राविधिक स्वयंसेवक परिचालन गर्ने जनाएको छ । 

 

रिक्त रहेको बाँकी दरबन्दी पूर्तिका लागि दुई वटा समितिको व्यवस्था गरिएको छ । प्रदेशभित्रका दुर्गम, सुगम, पिछडिएको क्षेत्र तथा ती क्षेत्रहरूमा आवश्यक कोटा निर्धारण गर्ने काम नीतिमार्फत् निर्देशक समितिले गर्नेछ । 

 

परिचालित स्वयंसेवकलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिएको छ । एक हप्ताभित्रमा स्वयंसेवकका भर्नाका लागि विज्ञापन निकालिने तयारी मन्त्रालयले गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्