दोस्रो दुबर्ग बिशाल गोल्डकप : वीरगन्जको सुरुवाती जित



वीरगन्ज : वीरगन्जमा शनिबारदेखि शुरु भएको दोस्रो दुबर्ग विशाल गोल्ड कप फुटबल प्रतियोगितामा वीरगञ्ज ११ ले विजयी शुरुवात गरेको छ ।

 

 नारायणी रंगशालामा भएको खेलमा वीरगन्जले भारतको कोलकत्तालाई टाइब्रेकरमा १ को विरुद्ध ४ ले पराजित गरेकोे हो । निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । 

 

वीरगन्जका गोलरक्षक दिपेश यादवले टाइबे्रकरमा दुई उत्कृष्ट बचाउ गरेका थिए । टाइब्रेकरमा कोलकत्ताका जर्र्सी नम्बर १७ का प्रशान्तले गोल गरेपछि अन्यन्तै रोमान्चक बनेको खेलमा वीरगन्जका जर्सी नम्बर ११ का कृष्णा शाक्य, कृपाकान्त चौधरी, सिसेस थापा र अनुज सिंहले लगातार गोल गरेपछि वीरगन्जले शुरुवाती जीत हासिल गरेको हो । वीरगन्जको जीतसँगै कोलकत्ता बाहिरिएको छ । 

 

वीरगन्जका गोलरक्षक दिपेश यादवका म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई म्यान अफ द म्याचको सिल्डसहित नगद ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा नेपालका ६ र भारतको २ गरि कुल आठवटा टिमको सहभागिता रहने छ ।

नेपालका नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, संकटा क्लव, हिमालयन शेर्पा क्लव, आयोजक वीरगञ्ज ११, जनजागृति युवा क्लव सिमरा र भारत कलकत्ताको साउर्थन समिटी र सिलीगुरीको सहभागिता रहको विशाल मेमोरियल फाउण्डेशनका अध्यक्ष अनिल कुमार कलवारले जानकारी दिए । 

 

प्रतियोगिताको पहिलो विजेता टिमले ५ लाख ५५ हजार  ५ सय ५५ नगद सहित शिल्ड र उपविजेताले २ लाख ७७ हजार दुई सय ७७ नगद सहित शिल्ड पाउने छन् । आइतबारको खेल सशस्त्र प्रहरीको एपिएफ र काठमाडौंको हिमाल्यन शेर्पाबीच हुनेछ । 

 

यसअघि विशाल गोल्ड कप प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसका नेता एवं पर्सा क्षेत्र नम्बर १ का पूर्व सांसद अनिल रुगंटाले गरेका थिए ।

 उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान र उपाध्यक्ष केसी लामिछाने, नेकपाका नेता बसरुदीन अंसारी, वडा नम्बर ६, १०, र १५ का वडा अध्यक्षहरु क्रमश प्रदीप चौरसिया, मनोज गुप्ता, गजेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्