कोटेश्वर–कलंकी सडकखण्डमा रोपिएको बिरुवा : हरियाली हैन, उजाड बन्दै !



काठमाडौं : निकै ताम झामका साथ शुरु गरेको कोटेश्वर–कलंकी सडकखण्डको दायाँबायाँ हरियाली बनाउन रोपिएको विरुवाको अवस्था हेर्दा लाग्छ हरियाली हैन, उजाड बन्दै छ । वृक्षारोपण अभियानको उद्घाटन असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । निक्कै तामझामका साथ ३ हजारभन्दा बढी विरुवा रोपियो । रोप्ने काम त भयो तर, त्यसको रेखदेख खासै भएन । विरुवा त रोपियो तर यो सडक हरियालीमा फर्केला त ? भन्ने प्रश्न सबैको मनमा उब्जियो तर यतिका तामझामका साथ शुरु भएकोले केहि मानिसले विश्वास पनि गरे । तर, त्यो विश्वास धेरै समयसम्म टिक्न सकेन ।

बिना तयारी हचुवाको भरमा विरुवा रोपिएको कोटेश्वरका स्थानिय सम्झना श्रेष्ठ भन्छिन् । उनी भन्छिन्,‘कार्यक्रमको तामझाम हेर्दा त केहि होला अब भनेको तर केहि भएन । विरुवा रोपेर मात्र छोडियो, न त त्यसको गोडमेल गरियो न त पानी नै हालियो । सबै सरकारले देखावटी मात्र गरे ।’

हुन पनि हो त्यतिका खर्च गरेर रोपिएका विरुवा मरिरहेका छन् । कुनै ठाउँ विरुवालाई छेकबार गरिएको बारमै कपडा सुकाइएको छ भने कति ठाउँ बेरा नै ढलेका छन् तर कति ठाउँ फोहोर झुण्ड्याइएको छ । गल्ती कसको सरकारको वा स्थानीयवासीको ?

त्यति मात्र हैन सर्भिस ट्रयाक बनाउदा निकालीएको माटो र ढुङ्गा पनि थुपारिएको छ । हामीले देखेका छौं सरकारले विरुवा रोप्छ । तर, अलपत्र छाड्छ । त्यसको रेखदेख हुँदैन् । त्यो विरुवा रोपेको मतलब नै हुँदैन । बल्ल अलिअलि सरेका बिरुवा छाडा गाईवस्तु र पैदल यात्रुहरूको निमोठनामोठ पर्छन् । धेरै ठाउँमा यस्तै भएको छ र देखिन्छ पनि । त्यसैले मलाई त यो बिरुवा हुर्कन्छन् भनेरै पहिलै विश्वास थिएन, बालकुमारी बस्ने भोजराज भुजेल बताउछन् ।

उनी भन्छन्,‘सरकारले सडकका दायाँबायाँ विरुवा रोपेर एकदमै राम्रो काम गरेको हो । यी सबै विरुवा हुर्काउन सके कति सुन्दर हुन्थ्यो । तर, रोपेर मात्र केहि हुनेवाला छैन ।’

यी विरुवा न त संरक्षण गर्ने अधिकार पाएका जिम्मेवार व्यक्तिलाई चासो छ न त विरुवा रोपिएको नजिक घर भएकालाई नै ।

रोपिएका विरुवा तत्कालका लागि वन तथा भू–संरक्षण विभागले संरक्षण गर्ने जनाए पनि खासै संरक्षण गरेको पाइएन । चक्रपथ सडक विस्तारका क्रममा छेउछाउका सबै रुख काटेर यसको सुन्दरता गुमेका कारण सडक क्षेत्रमा वृक्षारोपण अभियान चलाइएको वन तथा भू–संरक्षण विभागले जनाएको छ । विरुवाको रेखदेख गरिरहेको र विभिन्न कारणले केहि विरुवा मरेको स्वीकार गर्छन्, काठमाडौं जिल्ला वन कार्यलयका पूर्व डिभिजनल अधिकृत राम बावु पौडेल ।

उनले भने, ‘सडक आसपास रोपिएका विरुवाको संरक्षण विभागले नै गरिरहेको छ । हामीले त्यस क्षेत्रमा निरीक्षणका लागि कर्मचारी पनि खटाएका छौं । केही बिरुवाहरु मरेका छन् । मरेका बिरुवाको ठाउँमा शुरुदेखि पुनः वृक्षरोपण गरिनै रहेका छौं । कुनै–कुनै बिरुवा मरे जस्ता देखिएका छन् तर त्यो मरेको हैन अहिले पात भर्ने समय हो त्यसैले मरे जस्तो देखिएको छ ।’

अहिले बिरुवा संरक्षणका लागि ७ जना कर्मचारी खटाइएको छ । कतिपय ठाउँमा सडक विस्तार, पानीको पाइप बिछ्याउदा शुरुमा राम्रो तरिकाले नरोपिएका कारण लगभग ५०-६० वटा बिरुवा मात्र मरेको काठमाडौं जिल्ला वन कार्यलयका पूर्व डिभिजनल अधिकृत पौडेलले बताए ।

उनले भने, ‘अहिले सम्म ३०÷४० वटा बिरुवा फेरी सकेका छौं । अहिले हामीले जुन बिरुवा राम्रोसँग हुर्कन सकेको छैन त्यसमा कम्पोष्ट मल राख्ने काम पनि शुरु गरेका छौं । त्यसैगरी सर्वसाधारणसँग पनि हामीले समन्वय गरिरहेका छौं । उनीहरु धेरैले राम्रो प्रतिक्रिया दिएका छन् भने केहिले अलि सहयोग गरेका छैन । उनीहरु बिरुवा ठूलो भएपछि असर गर्छकी भन्ने गरेका छन् । तर, अहिले हामीले ठूलो हुने बिरुवा हैन, बेला बेला हामीले काँटछाट गरिरहन्छौ भनेर सम्झाएपछि उनीहरु सकारात्मक भएका छन् ।’

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर यो सडकखण्डमा वन तथा भू–संरक्षण विभागले ३ हजार ५० विरुवा रोपेको थियो । सडकको दायाँबायाँ कल्की, असारे, राजवृक्ष, कपुर, नासपती, तेजपत्ता, जिन्कोलगायतका विरुवा रोपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्