साउदीमा मृत्युदण्डको सजायबाट जोगिएर घर फर्के उमेश



जनकपुर : साउदी अरबमा मृत्युको मुखबाट जोगिन सफल भएका उमेश यादव आज (सोमबार) आफ्नो गृहनगर फर्केका छन् ।

३ दिन अगाडी स्वदेश फर्केका यादव सोमबार आफ्नो घर आइपुगेका हुन् । उमेश यादव साउदी अरबमा मृत्युदण्डको सजाय पाइसकेका थिए ।

तर अभियन्ता सरोज राय तथा नेपाली राजदुतावासको पहलमा मृत्युदण्डको सजायबाट जोगिन सफल भए । अन्ततः १४ वर्षपछि उनी आफ्नो परिवारका सदस्यहरुसंग भेट्न सफल भएका हुन् । यादव १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई भेट्दा आफूलाई सम्हाल्न सकेनन् ।

सोमबार दिउँसो जनकपुरधाम विमानस्थलमा ओर्लेका उमेशले आफ्नो श्रीमती र परिवारलाई देख्दा भावविह्वल भएका थिए । श्रीमती सञ्जु यादव छोराहरु भक्कानिएर रोइरहेका थिए ।

श्रीमान आईरहेको खबर सुनेर श्रीमती सन्जु छोराहरु कमलेश र हितेशसँगै विमानस्थलमा पुगेकी थिइन् । काकालाई भेट्न उनका भतिजाहरु,साढु राजकरण यादव, सासू दुर्गीदेवी लगायतकाहरु उनको स्वागतमा घण्टौं सम्म विमानस्थलमा प्रतिक्षा गरेका थिए ।

१४ वर्ष अगाडी वैदेशिक रोजगारीका लागि सन् २००६ मा साउदी अरब जाँदा उनको जेठो छोरो कमलेश ४ वर्षका थिए भने कान्छो छोरो मात्र १७ दिनका थिए । उमेशले विदेशमा राम्रै काम पनि गरे । तर उनी जेलमा परेको खबर सुनेपछि श्रीमती सन्जु यादव ससुरालीमा बस्नै छोडिन ।

सञ्जुले उमेशको धनुषाको कमला नगरपालिका(५ पर्साको घर त्यागेर सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर(७ मरेवास्थित आफ्नो माइती गईसकेकी थिइन् । छोरासंगै माइती गएकी सन्जु ८ वर्षसम्म उतै बसिन् ।

उमेश जेलमा पर्दा सन्जुलाई छोराहरु पढाउन मजदुरी समेत गर्नु पर्यो । अहिले जेठो छोरा १७ वर्ष र कान्छो १३ वर्षका छन् । कमलेश अहिले कक्षा ८ मा महेन्द्रनगरकै प्रगति शिशुसदन बोर्डिङ्ग स्कुलमा पढ्छन् । हितेश सरस्वती बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत छन् ।

उमेश विदेशमा पाकिस्तानी नागरिकको हत्या गरेको आरोपमा पक्राउ परेपछि केहि व्यक्तिहरुले उनकी श्रीमतीलाई उमेशलाई पनि मारिदियो भन्ने कुराहरु सुनाउन थाले । त्यसपछिको ६ वर्ष उमेश र सञ्जुबीच कुनै सम्पर्क नै हुन सकेन । ततपश्चात घरपरिवारले पनि आशा मार्न थाले ।

तर सञ्जुलाई श्रीमान् जीवितै रहेको आशा थियो । ६ वर्षपछि एक दिन उनलाई उमेशको फोन आयो । लुकीछिपी फोन गरेका रहेछन् । उनले फोनमा श्रीमतीलाई भने, ‘म जिउँदै छु, बच्चाको ख्याल गर्नु, पढाउनु ।’ उमेशले धेरै कुरा गरेनन् । आफ्नो चिन्ता नलिन उमेशले श्रीमतीलाई भनेका थिए त्यतिबेला ।

त्यस यता उनीहरुबीच वर्ष दुई वर्षमा एक पटक बल्लतल्ल फोन हुन्थ्यो । उमेशलाई फाँसी दिने पहिला देखिकै हल्ला छँदै थियो । यो कुराले सन्जु, उमेशको परिवारलाई एकदमै पीडा हुन्थ्यो ।

साउदी अरबको जुबेल अदालतले फाँसी दिने कुरा सार्वजनिक भएपछि जनकपुरका अभियन्ता सरोज राईले पहलकदमी लिए । त्यसपछि उमेशलाई केही राहत भयो । परिवारलाई उमेश बाँचेर फर्किने आशा पलायो ।
उमेशकी सासू दुर्गीदेवीले छोरीलाई सहयोग गर्दै आएको बताइन् । उनले भनिन्, ‘माइतमा समस्या भएपछि महेन्द्रनगरमा सर सल्लाहमै पठाएको हो ।’

उमेशलाई सन् २०१८ मई १५ मा साउदी अदालतले मृत्युदण्ड सुनाएको थियो। सामाजिक अभियन्ता सरोज रायको पहलमा उनले अदालतबाट आममाफी पाएपछि गत बुधबार उनी काठमाडौं अवतरण गरेका थिए । आज उनी आफ्ना्े घर पुग्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्