विपक्षीले मुद्दा नपाएर विद्यार्थी उचालेर आन्दोलन गराएको मेयर साहको आरोप



वीरगन्ज : पर्साको बहुदरमाईन नगरपालिकामा रहेको श्री महाविर साह मा.वि. नगरदाहामा विषयगत शिक्षकको विषयमा भएको विवाद समाधान भएको छ । नगरपालिका मेयर नितेन्द्र साहले विद्यालयमा देखिएको विषयगत शिक्षकको विवाद पूर्णरुपमा समाधान भएको जानकारी गराए ।

तत्कालिन श्री महाविर साह प्रावि विद्यालयलाई निजि श्रोतबाट नै माविको पठनपाठन संचालन गर्ने भनेर विद्यालय व्यवस्थापन समितिले नगरपालिकाबाट स्वीकृति लिएको थियो । तर बिचमा आएर समितिले माविको दरबन्दीको माँग उठाएपछि नगरपालिकाकै श्रोतबाट ४ जना शिक्षक राखेर पठान पाठन गराउँदै आएका उनले बताए ।

विषयगत शिक्षकको माग गर्दै गत माघ १० गते विद्यालयका विद्यार्थीहरुले नगरपालिकामा तोडफोड तथा आगजनी गरेपछि प्रहरी र विद्यार्थी विच झडप भएको थियो । विद्यार्थीहरुको आन्दोलन उग्र भएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गरेको थियो जसले गर्दा आधादर्जन भन्दा बढी विद्यार्थीहरु घाईते भएका थिए ।

विद्यार्थीले नगरपालिका कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै नगरपालिका कार्यालयमा तोडफोड गर्दै एउटा मोटरसाइकलमा आगजनी पनि गरिदिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको थिए ।

आगजनीबाट नरपालिका कार्यालयको ना १ ब २९०६ नम्बरको पल्सर मोटरसाइकल जलेर पुर्ण रुपमा नष्ट भएको थियो । विद्यार्थीहरुले नगरपालिका कार्यालयभित्र रहेका कम्युटर, प्रिन्टर, टेबुल कुर्सीलगायतका फर्निचर पनि तोडफोड गरेका थिए ।

मेयर साहले विपक्षीले शिक्षकको बहानामा विद्यार्थीहरुलाई उचालेर नगरपालिकामा आक्रमण गर्न लगाएको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्