६ सय ९९ स्थानीय तहमा बैंक



काठमाडौं : सरकारले गत असार मसान्तभित्र सात सय ५३ वटै स्थानीय तहमा बैंक पुर्‍याउने घोषणा गरेको थियो । अझै ५४ वटामा पुग्न बाँकी छ । ढिलै भएपनि ६ सय ९९ स्थानीय तहले बैंकिङ सेवा पाएका छन् ।

डेढ वर्षको अवधिमा वाणिज्य बैंकहरूले चार सय चार स्थानीय तहमा शाखा विस्तार गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले गत आर्थिक वर्षको बजेटमा सबै स्थानीय तहमा बैंकका शाखा पुर्‍याउने लक्ष्य अघि सारेको थियो । 

त्यसबेला दुई सय ९५ स्थानीय तहमामात्र बैंक शाखा थिए । शाखा खोल्न निर्देशन दिइएका मध्ये कतिपय बैंकका धेरै र कतिपयका केही स्थानमा शाखा विस्तार गर्न बाँकी छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बाँकी स्थानीय तहमा पनि बैंक पुर्‍याउन पहल भइरहेको जानकारी दिए । कृषि विकास बैंकले नौ स्थानीय तहमा शाखा विस्तार गर्न बाँकी छ । नेपाल एसबीआई बैंकले आठ, बैंक अफ काठमाडौं र सेन्चुरी कमर्सियल बैंकले पाँच÷पाँच स्थानीय तहमा शाखा विस्तार गर्न बाँकी छ ।

एभरेस्ट, नेपाल क्रेडिट एन्ड कमर्स, माछापुच्छ्रे, प्रभु र कुमारी बैंकका तीन÷तीन स्थानीय तहमा शाखा विस्तार हुन बाँकी छ । राष्ट्रिय वाणिज्य बैंक र हिमालय बैंकले पनि तीनरतीन स्थानीय तहमा शाखा खोल्न बाँकी छ । 

राष्ट्रिय वाणिज्य बैंकले डोल्पाको दुई गाउँपालिका र मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाहेक सबै तहमा शाखा विस्तार गरिसकेको छ । हिमालय बैंकले बाजुराका तीन गाउँपालिकामा शाखा विस्तार गर्न बाँकी छ । हिमालय बैंकले बाजुराको छेडेदह, पाण्डव गुफा र स्वामीकार्तिक गाउँपालिकामा शाखा स्थापना गर्न लागेको छ ।

सिभिल बैंक र नेपाल बैंकको दुई स्थानीय तहमा बैंक शाखा खोलेका छैनन्। नेपाल बैंकले मनाङको नार्फु र काइके गाउँपालिकामा शाखा खोल्न पूर्वाधार तयार पार्दै छ । सिभिल बैंकले गोरखा र जाजरकोटका दुईरदुई गाउँपालिकामा शाखा विस्तार गर्न लागेको छ ।

‘नेपाल इन्भेस्मेन्ट बैंक र ग्लोबल आईएमई बैंकको एक एक स्थानीय तहमामात्र शाखा स्थापना हुन बाँकी छ’, पौडेलले भने, ‘ग्लोबल आईएमई बैंकले संखुवासभाको भोटेखोला गाउँपालिका र नेपाल इन्भेस्टमेन्ट बैंकले सुनसरीको देवानगञ्ज गाउँपालिकामा शाखा खोल्ने तयारी गरेको छ ।

२८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ फाइनान्स कम्पनी र ७५ वटा माइक्रोफाइनान्स गरी एक सय ६० वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । यिनले मंसिर अन्तिमसम्म चार हजार पाँच सय ३१ वटा शाखा सञ्चालन गरेका छन् । 

एक हजार तीन सय २० वटा शाखारहित बैंकिङ सेवा छन् । नेपालमा ५८ लाख २७ हजार मोबाइल बैंकिङ र सात लाख ९१ हजार इन्टरनेट बैंकिङ ग्राहक छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्