कांग्रेस कार्यकर्ताबीच एकापसमै मुक्कामुक्की र ढुंगा हानाहान



काठमाडौं : नेपाली कांग्रेसका विद्यार्थी संगठनका कार्यकर्ता एकापसमै मुक्कामुक्की र ढुंगा हानाहानमा उत्रिएपछि पार्टी कार्यालय सानेपा तनावग्रस्त बनेको थियो ।

सोमबार दिउँसोदेखिनै सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने पक्षमा रहेका कार्यकर्ताबीच झडप भएको थियो । झडपले उग्र रुप लिएपछि सभापति शेरबहादुर देउवालाई पार्टी कार्यालयबाट निस्किनको लागि स्कर्टिङको आवश्यकता पर्यो ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्रमण गरेपछि सुरु भएको झडपमा दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका छन् ।

झडपमा कार्यकर्तामात्रै होइन क्रममा बैठकमा सहभागी हुन गएका नेताहरुको गाडीमा समेत तोडफोड भएको छ ।

काँग्रेस केन्द्रीय समितिको बैठकका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय प्रवेश गर्नै लाग्दा अनसनरत समूहका कार्यकर्ताले देउवालाई घेर्न लागेपछि देउवा समर्थक कार्यकर्ताले प्रतिवाद गरेका थिए ।

सो क्रममा दुई पक्षबीच झडप हुँदा नेविसंघ पूर्वमहामन्त्री कुन्दन राज काफ्ले सामान्य घाइते भएका छन् । अनसनरत समूहलाई समर्थन गर्दै आएका काफ्लेको मुखमा चोट लागेको छ ।

प्रत्यक्षदर्शीका अनुसार देउवा समर्थकले पार्टी कार्यालय परिसरमा सजाएर राखिएको गमला अनसनरतमाथि प्रहार गरेका थिए भने दुबै पक्षबीच मुक्का हानाहान समेत भएको थियो ।

अनसनरत समूहले देउवालाई आफ्नो माग सुनुवाइ नगरी ३२ वर्षमाथिबाट तदर्थ समिति गठन गरिएको भन्दै घेरा हालेका थिए । सोही क्रममा नेविसंघ काठमाडौँका सभापति मनोज वैद्यले बिथोल्ने प्रयास गरेपछि विवाद हुँदै हात हालाहाल र गमला प्रहारसम्मको अवस्था निम्तिएको हो ।

यसैबीच अनसनरत समूहमाथि आक्रमण भएको भन्दै काँग्रेस नेता अर्जुन नरसिंह केसीले विरोध गरेका छन् । अनसनस्थलमा पुगेर केसीले बूढानीलकण्ठमा नेविसंघको तदर्थ समिति गठनबारे भएको सहमतिमा आफ्नो सहमति नरहेको बताए । उनले अनसनरत समूहमाथि भएको आक्रमणको पार्टी सभापति सामु कुरा राख्ने पनि बताए ।

पार्टी कार्यालयमा ४० दिनसम्म रिले अनसन बसेका समूहले आजदेखि आमरण अनसन थालेको छ । उनीहरुले कुनैपनि हालतमा ३२ वर्ष मुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्