जनप्रतिनिधि नै सुन तस्करीमा, यसरी लुकाउन खोजियो



सिरहा : सिरहाको गोलबजार– ९ धुर्मीखोलानजिकबाट तस्करीको पौने दुई किलो सुन बरामद गरेको सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । शनिबार बिहान भारतीय नम्बरप्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीनजनालाई लुकाएको खुलेको हो । 

सार्वजनिक गरिएका एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीनजना पक्राउ परेको जानकारी केही घन्टापछि दिएको छ । सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको टोलीले सुनसहित उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार लहान नगरपालिका– १९ का वडाध्यक्ष मोहम्मद हकिमसहित सप्तरीका मोहम्मद अफरोज र मोहम्मद रहमान पक्राउ परेका हुन् । उनीहरूको फोटोसमेत सार्वजनिक गरिएको छ ।

सुरुमा प्रहरीले सुन, ६ वटा मोबाइल र साढे ३४ हजारसहित गाडीचालक मोहम्मद रियाज राइन, मोहम्मद अमिरुल खान र मोहम्मद कैयुम राइनलाई सार्वजनिक गरेको थियो ।

तर, अमिरुल खानले अन्य तीनजना पनि पक्राउ परेको पत्रकारमाझ बताएपछि प्रहरी अप्ठ्यारोमा परेको थियो । पत्रकारले थप बुझ्न खोज्दा एक–दुई घन्टापछि आउनुस् भन्दै एसपी सोपप्रसाद गुरुङले सम्मेलन सक्काएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्