संघीय समाजवादी फोरमले संविधान दिवसलाई कालो दिन नमनाउने



काठमाडौं : सत्ता साझेदार दल संघीय समाजवादी फोरम नेपालले आफ्ना कार्यकर्तालाई संविधान दिवसको दिन कालो दिवस भनी आयोजना गरिने कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । फोरमले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

वर्तमान संविधानप्रति आफ्नो पार्टीको अहमति कायम रहेपनि संशोधनमार्फत ती संबोधन हुने सम्भावना देखेकाले संविधानको विरोध नगर्न  र त्यस्ता कार्यक्रममा सहभागी नहुन भन्दै फोरमले सर्कुलर जारी गरेको छ । 

विज्ञप्तिमा भनिएको छ,– ‘संविधान सभाबाट जारी गराइएको संविधानप्रति पार्टीको असहमति, विरोध र फरक धारणा यथावत नै  छ। संविधान संशोधनको माध्यमबाट संविधानमा रहेका कमजोरीलाई सच्याउँदै प्राप्त अधिकारको संरक्षण गर्दै थप अधिकार प्राप्त गर्न हाम्रो पार्टी र सरकारमा रहेका दलसँग समझदारी भएकाले कालो दिवस मनाउने जस्ता कार्यक्रमबारे पार्टीले कुनै निर्णय नगरेको हुँदा त्यस्ता कार्यक्रममा सहभागी नहुन र कुनै भ्रममा नरहन आग्रह गर्दछौं’

२०७२ असोज ३ गते संविधान जारी गर्दा त्यसमा असमति जनाउँदै मधेसी दलले लामो समय आन्दोलन गरेका थिए । त्यसमा फोरम नेपालको पनि मुख्य भूमिका थियो । मधेसको अर्को मुख्य दल राजपाले भने यसपाली पनि संविधान जारी भएको दिनलार्इ कालो दिनका रूपमा मनाउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्