कोरोनाभाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो



काठमाडौं : छिमेकी मुलुक चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक सय ६ पुगेको छ भने ४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

चीनको हुबेई प्रान्तको राजधानी सहर उहानबाट फैलिएको जटिल कोरोनाभाइरस नेपाललगायत विश्वचर फैलिन थालेको छ । यो संक्रमण अहिलेसम्म १६ देशमा फैलिएको र ४७ जना संक्रमण भएका छन् ।

नेपालमा यो रोगको संक्रमण फैलिने क्रममा ३ जना नेपाली प्रभावित भएका छन् भने अन्य व्यक्तिसमेत प्रभावित हुन सक्ने भय बढेको छ ।

चिनियाँ अधिकारीहरूले नयाँ कोरोनाभाइरसका कारण चीनमा १ सय ६ जनाको मृत्यु भएको र ४ हजारभन्दा बढी सङ्क्रमित भएको बताएका छन् । यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ ।

यसैगरी अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुनः विचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ ।

अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फँसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन योजना बनाएका छन् ।

चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भए नसकेका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

डब्लूएचओका अनुसार कोरोनाभाइरसको समूह हो । जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ । कोरोनाभाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ । यसले सामान्य रुघाखोकीदेखि निमोनिया भई मानिसको मृत्युसम्म हुन्छ । चिकित्सकका अनुसार अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो । जुन पहिले मानिसमा पहिचान भएको थिएन ।

डब्लूएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)को समस्या निम्त्याउँछ । नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्छ । नोबेल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । लक्षणका आधारमा उपचार गरिने चिकित्सक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्