सिजनल व्यापार : तात्तातो भक्का



सुनसरी : जाडोयाममा बिहानै उठ्नसमेत जोकोहीलाई जाँगर चल्दैन । ओछ्यान र सिरक छाड्न नसक्नेहरू मुख धुन पनि नपरोस्झैँ गर्छन् । 

तर, एकाबिहानै इटहरीकी मालती चौधरी व्यापार गर्न निस्किन्छिन् । मानिसको चहलपहल बाक्लिसक्दा नसक्दै चुल्हो र केही भाँडाकुँडा लिएर इटहरी चोकको सडक छेउमा पुगिसक्छिन् ।

‘दिउँसो माटाका भाँडा बनाउने व्यवसाय छ’, उनी भन्छिन्, ‘बिहान तीन–चार घण्टा भक्का बनाएर बेच्छु ।’ उनकी दिदीचाहिँ टेंग्रा खोलाको पूर्वपट्टि बस्छिन् । अनि बहिनी पश्चिममा। सडक छेउ चुल्हो र भाँडाकुँडा राख्छन् उनीहरू । अनि थाल्छन्, भक्काको व्यापार ।

उनको घर इटहरी–६ मा छ । जाडोको मौसम हुनासाथ उनको सिजनल व्यापार सुरु हुन्छ । त्यो पनि जाडोको उग्र समयमा अर्थात् बिहान। धन्न आगोमा काम गर्ने हो । ‘त्यति जाडो हुँदैन’, १२ वर्षदेखि जाडो महिनाको बिहान सडकछेउ भक्का पकाउने मालती भन्छिन्, ‘व्यापार भनेपछि जाडो मानेर पनि हुँदैन नि ।’

उनले भक्का बेचेरै परिवारको गर्जो टार्छिन् । भक्का बनाउन खासै खर्च लाग्दैन । चामलको पिठो, आगो, एक भाँडो पानी भए पुग्छ । पानीको बाफले भक्का पाक्छ । 

भक्का पकाउन भाँडोमा पानी हालेर तताइन्छ । त्यसपछि चामलको पिठोलाई बटुकोमा राखेर कपडाले छोपिन्छ । अनि त्यही भाँडोको मुखमा राखिन्छ । पानीबाट निस्केको बाफले भक्का पाक्छ । त्यसपछि अचारसँग भक्का खान दिइन्छ ।

उनले बनाएको भक्का खान बूढापाकादेखि बच्चाहरूसम्म आउँछन् । थारू समुदायले खाजाका रूपमा पकाउने परिकार हो भक्का । तर अहिले के थारू, के राई, के बाहुन, क्षेत्री, भक्का खान आउँछन् । 

कतिले घर लगेर परिवारलाई बाँड्छन् । ‘बिहानको खाजाका लागि राम्रो हुन्छ । चिल्लो नहुने भएकाले ग्यास्ट्रिक हुनेका लागि पनि राम्रो हुन्छ’, उनी भन्छिन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्