उखु किसानको पीडामा रमाउने को हुन् अग्रवाल ?



काठमाडौं : उखु किसानको पैसा नतिरी फरार रहेका ईन्दिरा सुगर र अन्नपूर्ण सुगर एण्ड जनरल उद्योगका सञ्चालक राकेश कुमार अग्रवाल नेपाल विद्युत प्राधिकरणमा विद्युत सामग्री सप्लाई गर्ने ठेकेदार भएको खुलासा भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उर्जा तथा जलस्रोत मन्त्रालयलाई अग्रवाललाई सम्पर्कमा ल्याउनको लागि आग्रह गरेसँगै खोजी गरेकोमा उनी विद्युतको सामग्री सप्लाई गर्ने ठेकेदार रहेको पत्ता लागेको हो ।

अग्रवालले उखु किसानको करोडौ रकम तिरेका छैनन् । सरकारले ७ गतेभित्र उखु किसानको पैसा तिर्न अल्टिमेटम दिएपनि हालसम्म उद्योगी अग्रवाल सम्पर्कमै आए पनि उखु किसानको पैसा तिर्न आनाकानी गर्दै आएका छन् ।

उद्योग मन्त्रालयले उर्जा मन्त्रालयलाई पत्राचार गरेर अग्रवाललाई भुक्तानी दिनु अघि समन्वय गरेर उखु किसानहरुको बक्यौता रकम भुक्तानी गर्न सहयोग र सहजीकरणका लागि पत्राचार गरेअनुसार उर्जाले अग्रवालको खोजी गरेको थियो ।

अग्रवालले संचालन गरेको अन्नपूर्ण चिनी उद्योगले ३८ करोड १० लाख र इन्दिरा चिनी उद्योगले ९ करोड २६ लाख तिर्न बाँकी छ । सरकारले उनको बैंक कारोबार रोक्का गरेको छ ।

उनले हलसम्म अन्नपूर्णबाट ३ करोड ९० लाख र इन्दिराबाट ७५ लाख मात्र भुक्तानी गरेका छन् ।
अन्नपूर्ण सुगर र इन्दीरा सुगरका सञ्चालक राकेशकुमार अग्रवाल सम्पर्कमा रहेपनि ४२ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्नुपर्नेमा जम्मा ४ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेकाले आर्थिक कारोबार रोक्का गरी अनुसन्धान थालेको छ ।

त्यस्तै श्रीराम सुगर मिल्सले २६ करोड ७७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भएपनि किसानसँग जग्गा विक्री गरेर भुक्तानी गर्ने सम्झौता गरेकोले अनुसन्धान गर्न थालिएको हो । लुम्बिनी चिनी उद्योगका सञ्चालक मनिष अग्रावलको मृत्यु भएकाले उक्त उद्योग कसले सञ्चालन गर्छ भन्ने जानकारी हालसम्म आएको छैन ।

मन्त्रालयले गत पुष १८ गते उखु किसानसँग चिनी मिल सञ्चालकहरुबाट माघ ७ गते भित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने सहमति गरेको थियो। तर त्यो अनुसार नभएपछि सरकारले चिनी मिल संचालकलाई किसानको पैसा तिर्नका लागि ताकेता गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्