कृषि विश्वविद्यालय : पदाधिकारीकै निजी कलेज



काठमाडौं : कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीको लगानी र संलग्नतामा निजी कलेज सञ्चालनमा रहेको पाइएको छ। पदाधिकारीले आफ्नो लगानीका कलेजमा बढी ध्यान दिने भएकाले विश्वविद्यालय विवादको भुमरीमा पर्नुका साथै शैक्षिक गतिविधि खस्कँदै गएको छ। जसको फाइदा तिनै पदाधिकारीका निजी कलेजहरुलाई भएको छ।

शिक्षक तथा विद्यार्थीले पदाधिकारीबाट भएका विभिन्न नीतिगत त्रुटि सच्याउन र विश्वविद्यालयलाई गुणस्तरीय बनाउन पटकपटक आन्दोलन गर्दै आएका छन् तर तिनै पदाधिकारी विश्वविद्यालयको हितभन्दा पनि आफूले सञ्चालन गरेका निजी कलेज उकास्ने ध्याउन्नमा छन्।

पदाधिकारी मर्यादामा नबस्नुु, राजनीतिक दबाब र आर्थिक चलखेल बढ्दै जानुले विश्वविद्यालय तहसनहस हुने अवस्थामा पुगेको छ। विभिन्न विवादका कारण पछिल्लोपटक विश्वविद्यालय २ महिनादेखि ठप्पजस्तै छ।

नागरिकलाई प्राप्त जानकारीअनुसार विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक मनराज कोलाक्षपति काठमाडौं कलंकीमा रहेको हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एन्ड टेक्नोलोजी (हिकास्ट) का संस्थापक सदस्य हुन्। हिकास्ट पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सन् २००० मा स्थापना भएको हो।

कलेजको वेबसाइटअनुसार संस्थापक सदस्यमा रजिष्ट्रार कोलाक्षपतिको नाम २ नम्बरमा छ। यसैगरी सोही कलेजको संस्थापक सदस्यमा विश्वविद्यालयका अर्का पदाधिकारी पनि छन्। विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्राध्यापक नवराज देवकोटा पनि हिकास्टका संस्थापक बोर्ड सदस्य हुन्।

उनको नाम बोर्डमा ४ नम्बरमा छ। उनी २०६८ सालमा चितवनमा स्थापित नेपाल पोलिटेक्निक इनस्टिच्युट (एनपिआई) का पनि संस्थापक तथा सेयर होल्डर रहेको स्रोतको दाबी छ। विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकाल पनि एनपिआईको बोर्ड सदस्य हुन्। तर उपकुलपति भएपछि विवाद आउने भन्दै उनको नाम एनपिआई बोर्ड सदस्यबाट हटाइएको एनपिआई सम्बद्ध स्रोतले बतायो। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्