कालिन्चोकमा जंगल फँडानी तीव्र



दोलखा : अतिक्रमणको चपेटामा परेको पर्यटकीय क्षेत्र कालिञ्चोकमा तीव्र रूपमा वन फँडानी भइरहेको छ। पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्न थालेपछि यहाँको सम्भावना देखेका टाठाबाठाले सार्वजनिक जग्गा अतिक्रमणसँगै व्यापक वन फँडानी गरिरहेका छन्। कालिञ्चोकमा सार्वजनिक जमिन अतिक्रमण गरेर बिनाअनुमति संरचना तयार गर्न वरपरको जंगलका रूख काटिएका छन्।

कालिञ्चोक क्षेत्रको भोगाधिकारका विषयमा दुई सरकारी निकायबीच चलेको विवादको फाइदा उठाउँदै सार्वजनिक जग्गा अतिक्रमण गर्ने लहर चलेको छ। अतिक्रमण गरिएको जग्गामा घर बनाउन वरपरको जंगल मासेर काठ ल्याएको एक स्थानीयले बताए। ‘बाहिरबाट काठ ल्याउन महँगो छ।

जंगलका रुख काट्न कानुनले दिँदैन’, उनले भने, ‘अनि आफूखुसी नकाटेर के गर्नु ? होटल चलाउन घर त बनाउनैपर्‍यो।’ कालिञ्चोकका कुरीबजार, घ्याङडाँडा, मन्दिर रहेको थुम्कासहितका भागमा सार्वजनिक जग्गा ओगटेर दुई सयभन्दा बढी घर बनेका छन्। जग्गाको भोगाधिकार विवादबीच एउटा निजी कम्पनीले केबलकारसमेत सञ्चालनमा ल्याएको छ।

कुरी बजारमा संरचना उठाउँदा वरपरका जंगलका रुख ढालेर काठ ल्याइएको छ। कुरीबजारबाट उत्तरतर्फको क्षेत्रमा पर्ने जंगलका ठूला–ठूला रूख काटिएका छन्। कुरीबजारबाट पश्चिमतर्फ फोक्टे सुन्धारा वनतर्फ बाटैभरि रूख ढालिएको छ।

यो वन सिन्धुपाल्चोक जिल्लाको सिमानामा पर्ने एक स्थानीयले बताए। कुरीबजारबाट माथिल्लो डाँडाको पानी ढलो सिन्धुपाल्चोकतर्फ पर्छ। सिन्धुपाल्चोकको सिमानातर्फका उपभोक्ताको बस्ती निकै टाढा रहेकाले यो वनको रेखदेख गर्न आउन सक्ने अवस्था छैन। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्