नीजि क्षेत्रको सहभागिताले आर्थिक विकासमा टेवा : मन्त्री यादव



काठमाडाैं : उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले मुलुकलाई सम्बृद्ध बनाउन सबै लाग्नु पर्ने बताए छन् । नीजि क्षेत्रको सहभागिताले मात्रै आर्थिक बृद्धि सम्भव बताउँदै उनले मुलुकलाई सम्बृद्ध बनाउन सबैको सकरात्मक सोच जरुरी रहेको बताए ।

 

रुपन्देही उद्योग संघको ४० औँ वार्षिक साधारण सभामा शनिबार बोल्दै मन्त्री यादवले विगतका सरकारले गरेका गलत कामको दोष अहिलेको सरकारलाई दिन नहुने बताए । सात महिनाको अवधीमा सरकारले गलत काम नगरेको र मुलुकलाई सम्बृद्ध बनाउने दिशामा अगाडि बढेको बताएका छन् ।

 

जनताले पाँच वर्ष काम गर्न र देश बनाउन जिम्मेवारी दिएको अवस्थामा ७ महिनामा नै केही भएन खत्तम भो भन्ने खालका कुरा गर्नु उचित छैन, कानुन बनाउने देखि विभिन्न काम बाँकी नै छ, जनताको विश्वास टुट्न नदिने गरी काम गर्छाैं, उनले भने ।

 

कार्यक्रममा मन्त्री यादवले उद्योगीलाई देश निर्माणमा योगदान गर्न आग्रह गरे । साथै उद्योग क्षेत्रका समस्या हल गर्दै अगाडि बढ्न सरकार तयार रहेको धारणा राखेका थिए । उनले भने, ‘उद्योगीको लगानीले उत्पादन र रोजगारीमा टेवा पुग्ने छ ।’

 

नेपालीले विदेशमा सस्तोमा श्रम बेच्नु पर्ने बाध्यतासँगै महङ्गोमा सामान आयात गर्नु परेको भन्दै स्वदेशमा उद्योग स्थापना गरी श्रमको सम्मान र आयातमा कमी हुने उनको भनाई थियो ।

 

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, पूर्व अध्यक्ष एजाज आलम, संघका महासचिव कृष्णप्रसाद पराजुली लगायतले उद्योग क्षेत्रका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्