नेपालमा थपिए ५११ हिमताल, एक सय २ हिमताल भने लाेप



काठमाडौं : नेपालमा ३० वर्षको अवधिमा ५ सय ११ वटा हिमताल थपिएका छन् । जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका हिमनदी पग्लन थालेपछि हिमतालको संख्या बढेको हो ।

त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सको इन्स्टिच्युट अफ तिब्बेतीयन प्लेटुले सन् १९७७ देखि २०१७ सम्म नेपालमा रहेका हिमतालको अवस्थाबारे गरको अनुसन्धानले हिमताल बढेको देखाएको छ । 

अनुसन्धानअनुसार ३० वर्षको समयावधिमा हिमतालको क्षेत्रफल २५ प्रतिशतले बढेको छ । एक वर्ष लगाएर गरिएको अनुसन्धानमा ०।३६ हेक्टरभन्दा माथि क्षेत्रफल भएका हिमताललाई समावेश गरिएको थियो ।

नेपालमा सन् १९८७ मा ६५ वर्गकिलोमिटर क्षेत्रफल हिमतालले ओगटेका थिए, अहिले यो क्षेत्रफल ८१ वर्गकिलोमिटर पुगेको छ । थपिएका हिमतालले ओगटेको क्षेत्रफल १० दशमलव १ वर्गकिलोमिटर छ । २ हजार ४ सय ५६ देखि ५ हजार ८ सय ९३ मिटर उचाइमा नयाँ हिमताल बनेका छन् ।

थपिएका सबै हिमताल कोसी नदी बेसिनमा छन् । ४ हजार ४३ मिटरदेखि ५ हजार ६ सय मिटरको उचाइमा रहेका १ सय २ वटा हिमताल भने हराएका छन् ।

अनुसन्धानमा खटिएका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा। सुदीप ठकुरीका अनुसार २० वर्षको अवधिमा तालको औसत क्षेत्रफल २५ प्रतिशतले बढेको छ ।

नेपालमा सन् १९८७ मा १ हजार १ सय ३७ वटा हिमताल थिए । सन् २०१७ मा आएर १ हजार ५ सय ४१ वटा पुगेको छ । यसले जलवायु परिवर्तन र तापक्रम वृद्धिको असर देखाउने ठकुरीले बताए ।

हिमताललाई तीन प्रकारमा वर्गीकरण गरेर अनुसन्धान गरिएको थियो । जसमा सुप्रा ग्लेसियल, प्रो ग्लेसियल र अनकनेक्टेड ताल छन् । हिमनदीको छेउछाउमा बनिने ‘प्रो ग्लेसियल’ ताल यो अवधिमा एक सय ८१ प्रतिशतको दरले बढेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्