अँध्यारा आकाशेपुल : रातको समयमा न बत्ती न सुरक्षा



काठमाडाैं : बागबजार र रत्नपार्क जोड्ने आकाशेपुलमुनि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँग एक साताअघि स्थानीयले आक्रोश पोखिरहेका थिए, ‘साँझपख आकाशेपुलमा हिँड्नै सकिँदैन, तपाईंहरू के गर्दै हुनुहुन्छ ?’ उनीहरू यतिमा मात्रै रोकिएनन् ।

प्रमुख शाक्यलाई साँझपख पुलमार्फत बाटो काट्न सुझाबसमेत दिए । स्थानीयको गुनासो शाक्यसँगै महानगरका कर्मचारी, सुरक्षाकर्मीलगायतले चुपचाप सुनिरहेका थिए । 

सन्दर्भ थियो, रत्नपार्कआसपासमा जेब्राक्रस र आकाशेपुलमार्फत बाटो काट्न सचेतना जगाउने अभियानको शुभारम्भ । स्थानीयको आक्रोशसहितको गुनासो सुनेपछि प्रमुख शाक्यले कमजोरी स्विकार्दै एक शब्दमा जवाफ फर्काए, ‘तपाईंहरूको समस्या हामी सम्बोधन गर्नेछौँ ।’

काठमाडौं महानगरभित्र १२ वटा आकाशेपुल छन्, तर कुनै पनि पुलमा बत्ती छैन । पुलको छेउमा सडकबत्ती जडान गरिएका छन्, तर ती बत्तीको प्रकाश आकाशेपुलमा पर्दैन । जसका कारण साँझपख सबै आकाशेपुल ‘अँध्यारा’ हुने गरेका छन् । पुलमा बत्ती नहुँदा साँझपख पैदलयात्रुलाई पुल प्रयोग गर्न समस्या हुने गरेको छ ।

पुलमै शौच र व्यापार

सुनसान र अँध्यारो भएपछि आकाशेपुलमै दिसा, पिसाबसमेत गर्ने गरिएको छ । जसले गर्दा पुल फोहोर दुर्गन्धित बनेका छन् । ‘पुलमा शौच गरिदिँदा नाक थुनेर हिँड्नुपर्ने अवस्थासमेत छ । बत्ती भइदिने हो भने पुलमा शौच गर्दैन थिए कि,’ गौतमले सुनाइन् ।

आकाशेपुलमा फुटपाथ व्यापारीले कब्जा जमाउने गरेका छन् । भिडभाडका वेला पुलमा पसल थापिदिँदा हिँड्नै मुस्किल हुने गरेको छ । ‘पसल थाप्ने र किन्नेको भिड लाग्ने गरेको छ । त्यसैले पिकआवरमा हिँड्नै समस्या हुने गरेको छ,’ गौतमले थपिन् ।

आकाशेपुल प्रयोग गर्न झन्झट मान्छन् यात्रु 

पुलबाट बाटो काट्न साँझका वेला मात्रै होइन, दिँउसो पनि यात्रुहरूले झन्झट मान्ने गरेका छन् । अपांगता भएकालाई पुलबाट बाटो काट्न निकै सकस पर्ने गरेको छ । सोहीकारण, महानगरले सचेतना अभियान सञ्चालन गरेको छ ।

टुँडिखेलआसपास र जमलका नौवटा आकाशेपुलमा महानगरले ट्राफिक प्रहरी, जनपद प्रहरी र कादम्बरी कलेजसँगको सहकार्यमा साताव्यापी अभियान सञ्चालन गरेको हो ।

जेब्राक्रस र आकाशेपुलको प्रयोग नगर्दा दुर्घटना बढेको भन्दै सञ्चालन गरिएको अभियान आइतबार सकिनेछ । महानगरले बाहिरबाट आउनेका लागि भन्दै अभियान सञ्चालन गरे पनि राजधानीमै बसोवास गर्नेहरूले समेत पुलबाट बाटो काट्न झन्झट मान्ने गरेका छन् ।

साँझको सकस

पुल अँध्यारा हुँदा हिँड्नै समस्या हुने गरेको छ । बत्ती नहुँदा यात्रुहरू साँझपख आकाशेपुलबाट बाटो काट्न असुरक्षित मान्ने गर्छन् । ‘दिउँसो त पुलबाट हिँड्न खासै समस्या छैन, तर साँझको वेला अँध्यारोमा कसरी हिँड्नू ?’ ज्याठा बस्दै आएकी सुजता गौतमले भनिन्, ‘पुलमा हुने क्रियाकलापका कारण हिँड्न डर लाग्छ । त्यसैले धरैले पुलको प्रयोग गर्दैनन् ।’ 

अँध्यारो भएपछि पुलमा अनेकौँ अपाच्य क्रियाकपाल हुने गरेको स्थानीयको गुनासो छ । ‘अँध्यारो भएपछि पुलमा यौन क्रियाकलापसमेत हुन्छन्, जसले हामीलाई हिँड्न असहज हुने गरेको छ ।

यौनकर्मीका मोलमोलाइ अँध्यारा पुलमै हुने गरेका छन्, जुन प्रहरीलाई समेत थाहा छ,’ महानगर प्रमुख शाक्यको टोलीसँग स्थानीयले गरेको अर्को गुनासो थियो । आकाशेपुलमा साँझपख लुटपाट र दुव्र्यवहारसमेत हुने गरेको गुनासो सर्वसाधारणको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्