जनप्रतिनिधि र कर्मचारीकै घरमा छाउगोठ



सुर्खेत : चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिकाका सचिव हुन्। उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ। सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा–सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको होइन्।

‘घरमा बुवा धामी हुनुहुन्छ, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन्,’ बयकले भने, ‘व्यक्तिगत रूपमा म मान्दिनँ तर घरकालाई सम्झाउन सकिँदो रहेनछ।’

चौकुनेसँगै जोडिएको पञ्चपुरी नगरपालिका–१० का वेदराज भण्डारी निर्वाचित वडा सदस्य हुन्। सामाजिक विकृति र कुरीति अन्त्य गर्ने अभियानमा लाग्नुपर्ने भण्डारीकै घरमा छाउगोठ छ। स्थानीय सरकार गठनलगत्तै पञ्चपुरी नगरले छाउपडी अन्त्यका लागि भन्दै गाउँमा पटक–पटक जनचेतनामूलक कार्यक्रम गरेको छ।

‘मेरो वडामा हुने कार्यक्रममा अतिथिका रूपमा धेरैपटक छाउगोठ हटाउन भाषण पनि गर्ने गरेको छु,’ वडा सदस्य भण्डारीले भने, ‘आफ्नै घरकाले नमाल्दा अरूलाई अर्ती दिएर मात्रै कहाँ हुँदो रहेछ।’ २०७१ सालमा तत्कालीन तातापानी, बाबियाचौर, गुठु, घाटगाउँलगायतका गाविसमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरियो।

ती गाविसहरु छाउगोठमुक्त घोषणा पनि भए। फेरि अहिले घरघरमा छाउगोठ बनाउन थालिएको छ। सर्वसाधारण नागरिक मात्रै होइन, जनप्रतिनिधि र सरकारी कर्मचारीकै घरमा छाउगोठ बनाइन थालेको छ।

गुठुको भावरमा चार वर्षअघि २३ वटा छाउगोठ भत्काइए। अहिले तिनै ठाउँमा आठवटा छाउगोठ बनिसकेका छन्। केही बन्ने क्रममा छन्। ‘मनबाटै छाउपडी नहटाउँदासम्म छाउगोठ भत्काएर मात्रै केही हुँदो रहेनछ,’ चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला रानाले भनिन्, ‘त्यसैले हामीले छाउगोठ भत्काउनेभन्दा पनि यसलाई प्रोत्साहन गर्ने धामी, झाँक्रीलाई प्रोत्साहनको कार्यक्रम ल्याएका छौं।’

गाउँपालिकाले छाउगोठमा रहने महिलाहरूलाई घरमा राख्न प्रोत्साहन गर्ने धामीझाँक्रीलाई नगद पुरस्कृत गर्ने कार्यक्रम ल्याएको हो। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्