फेरियो माघी



दाङ : कुनै समय थियो, माघी आयो कि कमैया कम्लरीको चहलपहल हुन्थ्यो । रमाइलोभन्दा दुःखको पर्व बनेर थारू गाउँ पस्थ्यो माघी । धेरै थारू बालिका कम्लरी भएर अर्काको घर जान्थे । पुराना कमैया कम्लरी नवीकरण गरिन्थे । अहिले फेरिएको छ ।

माघी आउनै लाग्दा अधिकांश थारू गाउँका घर रंगिएका छन् । दिनहुँजसो नाचगान र खानपिन चलिरहेछ । पर्व तयारीमा भ्याइनभ्याइ देखिन्छन् उनीहरू ।

‘विगतमा अरूको घरमा काम गर्न जानुपर्ने पर्व थियो यो,’ मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनीता चौधरीले भनिन् । अगुवा महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार माघी थारू समुदायमा नयाँ काम थाल्ने अवसर बन्दै गएको छ । ‘गाउँको अगुवा छान्ने, वर्षभरिका नयाँ योजना बनाउने, छोरीका लागि केटा खोज्ने र विवाह गर्ने समय बनेको छ,’ उनले भने ।

उनका अनुसार माघी ५ दिन चल्छ । पुस २८ गते माछा मारिन्छ भने २९ गते खसी, सुंगुर र कुखुरा काटिन्छ । ३० गते तरुल र गन्जी खन्ने गरिन्छ । माघ १ गते माघीका दिन बिहानै उठेर नदीमा नुहाएर चामल, दाल र नुन मिसाएको निसराउ छुइन्छ । मान्यजनको घरमा गएर टीका लगाइन्छ । बेलुकीपख अगुवा महतवाको घरमा सबैजना जाँड, रक्सी र तरकारी लिएर भेला हुन्छन् ।

सबै मिलेर खाएपछि नयाँ महतवा चयन गरिन्छ । नयाँ योजना बनाइन्छ । महतवाको घरबाट सुरु गरी सबै घरमा पुगेर नाचिन्छ । भोलिपल्ट दिदीबहिनीको घरमा भिक्षा दिन जाने चलन छ । अन्त्यमा नाचगानको पैसाबाट भोज गरेर माघी समापन हुन्छ ।

माघी पर्व हलो जोत्ने, बाली भित्र्याउनेजस्ता कामसँग सम्बन्धित रहेको थारू संस्कृतिका अध्येता महेश चौधरीले बताए । ‘खेतीपाती गर्ने, गरगहना लगाउने, पूजाआजा गर्ने, नाचगान गर्ने परम्परा पुरानै हो,’ उनले भने, ‘थारू जातिभित्र विविधतापूर्ण संस्कृति छ । कुनै समुदायमा घोडाको पूजा गर्ने चलन पनि छ ।’ थारूले मुसा, घोंगीजस्ता परिकार आदिमकालदेखि खाँदै आएको उनले बताए । ‘अहिले पनि थारू घरमा माघीमा यी सबै परिकार पाक्छन्,’ उनले भने ।

माघीमा नयाँ योजना गीतमार्फत व्यक्त गरिन्छ । यसलाई मघौटा भनिन्छ । ‘अब नयाँ के गर्ने भन्नेबारे हरेक घरमा योजना बन्छ, गाउँको अगुवा छानिन्छ,’ थारू कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले भने, ‘घर बनाउने, विवाह गर्नेजस्ता घरायसी कामका योजना पनि बन्छन् ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्