जाडो मौसममा मुटुका बिरामीले ध्यान दिनुपर्ने ७ कुरा



१) विहानको चिसोमा मर्निङ वाक नगरौँ
हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ वाकमा सकभर कोही पनि ननिस्किएको राम्रो । अझ मुटुका विरामी त चिसोमा निस्कनै हुँदैन । किनकी चिसोको कारणले मुटुका रक्तनलीहरु खुम्चिन गई रगत प्रवाहमा असर पर्छ । जसले गर्दा हृदयघात हुने सम्भावना हुन्छ ।

२) उच्चरक्तचापलाई निगरानी गरौँ
उच्चरक्तचापका विरामीहरु चिसो मौसममा थप सर्तक हुनुपर्छ । चिसो मौसममा स्वभावैले रक्तचाप बढ्ने हुनाले हृदयघातको खतरा पनि बढ्छ । तसर्थ यस्ता विरामीहरुले नियमित रुपमा रक्तचाप परीक्षण गरी रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । यदि रक्तचाप बढेको खण्डमा तत्काल चिकित्सकको परामर्स लिइ औषधिद्धारा नियन्त्रण गर्नुपर्छ ।

३) कोलेष्ट्रेरोल नियन्त्रण गरौँ
उच्च कोलेष्ट्रेरोल पनि हृदयघात गराउने प्रमुख कारक हो । जाडोको बेलामा रगतमा कोलेस्ट्रेरोलको मात्रा बढी देखिने हुँनाले यसलाई घटाउने वा नियन्त्रणको आवश्यकता अनिवार्य छ । त्यसका लागि फाइबरयुक्त खानाको साथै शारीरिक व्यायममा ध्यान दिनुपर्छ ।

४) सुगर नियन्त्रणमै राखौँ

मुटुरोग र सुगरबीच अन्योन्यास्रित सम्वन्ध हुन्छ । मुटुरोगीलाई जस्तै सुगरका बिरामीलाई पनि हृदयघातको सम्भावना उत्तिकै हुन्छ । गर्मीमा भन्दा जाडो मौसममा धेरै खान रुची हुने र कसैकसैले यसैको फाइदा उठाउदै अनियन्त्रित रुपमा भोजन गर्ने प्रचलनले सुगरको मात्रा ह्वात्तै बढ्छ । यसको असर मुटुमै गई ठोक्किन्छ । त्यसैले मुटुरोगीहरु सुगरको पनि परीक्षण गरि राख्नुपर्छ ।

५) चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग त्यागौँ
कतिपयले जाडो छल्ने बहानामा चिसो मौसममा झनै बढी चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइन्छ । तर त्यो सर्बथा गलत हो । किनकी त्यसै खुम्चिएको रक्तनलीहरुलाई यसको सेवनले थप साँघुरो बनाउछ जसले गर्दा हृदयघातको सम्भावना बढी हुन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सकेसम्म कहिल्यै चुरोट तथा सूर्तीजन्य पदार्थको प्रयोग नगरेको राम्रो ।

६) मदिराको सेवनमा नियन्त्रण आवश्यक
कतिपयले जाडो मौसममा शरीर तताउन भन्दै अत्यधिक मदिराको सेवन गर्ने गरेको पाइन्छ । त्यो पनि स्वास्थ्यका लागि हानिकारक छ । अत्यधिक मदिराले कोलेष्ट्रेरोल बढ्न जान्छ । अझ अधिकांशले मदिरासंगै अत्यधिक मासु तथा चिल्लो पदार्थको सेवन गर्ने गर्दछन यसले थप असर पार्दछ ।

७) औषधि बन्द नगर्नुस
कतिपयले प्रेसर र सुगरका औषधिहरु अनियमित रुपमा लिने गरेको पाइन्छ । तर यस्तो गर्नु आफैलाई खतरामा धकेल्नु हो । मुटु, सुगर तथा दमका विरामीका लागि जाडोको समय प्रतिकुल नै हुने भएकोले यस्तो बेलामा औषधिहरुको नियमीत सेवन गरौँ ।

प्रतिक्रिया दिनुहोस्