ल्याटिन अमेरिकामा शक्तिशाली भूकम्प, खतरनाक सुनामी आउन सक्ने चेतावनी



काठमाडौं : ल्याटिन अमेरिकामा भूकम्प गएको छ । जमैकाको समुन्द्री तट र पूर्वी क्युबाको बीचमा रहेको क्यारेबियन सागरमा मङ्गलबार साँझ ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

यस भूकम्पले मेक्सिकोदेखि फ्लोरिडा लगायतका ठाउँमा शक्तिशाली झट्का दिएको अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) ले बताएको छ ।

त्यस्तै केमैन द्वीप समूहमा पनि मङ्गलबार राति ६ दशमलव १ म्याग्निच्युडको भूकम्पको झट्का महसुस गरिएको थियो ।

शक्तिशाली भूकम्पको झट्कापछि अमेरिकी वैज्ञानिकहरुले समुद्री तटीय इलाकामा खतरनाक सुनामी आउन सक्ने बताएका छन् । भूकम्पको क्षतिको बारेमा भने जानकारी प्राप्त भैसकेको छैन ।

पहिलो भूकम्पको झट्काको केन्द्र समुद्री तटीय शहर लुसियामा मापन गरिएको थियो ।

यस्तै प्रशान्त सुनामी चेतावनी केन्द्रले जमैकाको तटीय इलाकामा सुनामी आउन सक्ने चेतावनी दिएका छन् । सुनामीको असर जमैका, बेलिज, क्युबा, होन्डुरस, मेक्सिको र केमैन द्वीपमा देख्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्