दुई वर्षको प्रेम सम्बन्ध बचाउन प्रेमीसँग मिलेर पतिको हत्या



विराटनगर : प्रेमीसँग मिलेर मोरङको कटहरी गाउँपालिका ७ की ३५ वर्षीया दयावती सरदारले आफ्नै पतिको हत्या गरेकी छन् ।  दयावतीले प्रेमी कटहरी ७ का बोस भनिने ३६ वर्षीय बद्री सरदासँग मिलेर ४५ वर्षीय पति विकास सरदारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

विकासको शव ग्रामथान गाउँपालिका ३ मा पानी जमेको खाल्डोमा माघ ६ गते सोमबार बिहान फेला परेको थियो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मृतकको टाउकोको पछाडि चोट देखिएपछि घटनाको अनुसन्धान गर्ने क्रममा प्रेमीसँग मिलेर पतिको हत्या गरेको खुलेको जानकारी दिए । 

दयावती र प्रेमी बद्रीकै सल्लाह र योजनाअनुसार गरिएको हत्यामा अन्य दुईजनाले पनि सहयोग गरेको खुलेको छ । विकासको घरमा मदिरा पसल थियो । मदिरा सेवन गर्ने बहानामा कटहरी ७ का ३६ वर्षीय ललन सरदार र २५ वर्षीय करिया भनिने मुकेश सरदारलाई लिएर बद्री विकासको घर पुगेको एसपी अधिकारीले बताए। 

विकास र दयावतीले ललन र मुकेशलाई किस्ता तिर्ने रकम समेत सहयोग गर्ने सर्त राखेर एक सातादेखि हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ । ‘पसलमा मदिरा सेवन गरेपछि तीनैजनाले तास खेल्न भन्दै फकाएर विकासलाई गाउँतिर लगेको पाइयो,’ एसपी अधिकारीले भने, ‘केही पर एकान्तमा लगेर माघ ५ गते आइतबार राती १० बजे फलामको रड प्रहार गर्दै हत्या गरेको खुल्यो ।’ घटनामा प्रयोग गरिएको रड लुकाएर राखेको अवस्थामा प्रहरीले जुडी खोलाबाट बरामद गरेको छ । 

ललाइफकाइ एकान्तमा लगेपछि सुरुमा ललनले टाउकोको पछाडि प्रहार गरेको र विकास ढलेपछि पालैपालो बद्री र मुकेशले पनि प्रहार गरेको प्रहरीले जनाएको छ । त्यसपछि गाम्छाले घाँटीमा कस्दै हत्या गरेर शव घटनास्थल नजिक पानी जमेको खाल्डोमा लगेर फ्यालिदिएको अधिकारीले बताए । ‘हत्या गरिसकेपछि पानीमा डुबेर मृत्यु भएको देखाउन खाल्डोमा लगेर हालेको अनुसन्धानबाट खुल्यो,’ उनले भने, ‘परपुरुषसँगको अवैध सम्बन्धका कारण घटना भएको पाइएको छ ।’
 
उनका अनुसार बद्री र दयावतीबीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको पत्ता लागेको छ । उनीहरुबीच पटक-पटक शारीरिक सम्पर्क समेत भइसकेको अनुसन्धानबाट खुलेको अधिकारीले बताए । ‘घरमा आफू नभएका बेला बद्री आउने र श्रीमतीसँग रात विताउने गरेको कुरा थाहा पाएपछि विकासले दयावतीलाई सम्झाई बुझाई पनि गरेछन्,’ एसपी अधिकारीले भने, ‘त्यसपछि दयावती र बद्रीले आफूहरुको सम्बन्धमा बाधक बनेको भन्दै ‘साइड’ लगाउनु पर्छ भनेर सल्लाह गरी हत्या योजना बनाए ।’
 
विशेष सुराकीका आधारमा बद्रीलाई प्रहरीले गत शनिबार कटहरी-७ बाटै पक्राउ गरेको थियो । पक्राउ परेपछि उनले दयावतीको आग्रह तथा योजनामा हत्या गरिएको र त्यसमा ललन र मुकेशको पनि सहयोग रहेको प्रहरीलाई बताएका थिए । त्यसपछि दयावती, ललन र मुकेशलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए । 

पक्राउ परेका चारैजनालाई प्रहरीले मंगलबार विराटनगरमा सार्वजनिक पनि गरेको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी अधिकारीले दिए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्