नेपाली मुलका अमेरिकी नागरिकमाथि बलात्कार अभियाेग, अाराेपी फरार



बोस्टन : अमेरिकाकाे एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक-पटक बलात्कार गरेको अभियोग लगाएको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  

 

उक्त मुद्दा हेर्ने सरकारी वकिलका अनुसार बोस्टनको एभरेट टाउनमा बस्ने ४६ वर्षीय अभियुक्त नवराज कोइरालाले एक बालिकालाई ९ देखि १४ वर्षको उमेरमा पटक–पटक बलात्कार गरी ज्यान मार्ने र यो कुरा अरुलाई भनेमा सबै परिवारलाई मारी आफू पनि मर्ने धम्की दिँदै आएका छन् ।

 

बोस्टनस्थित म्यासाच्युसेट्स सुपेरियर कोर्ट उबर्नमा बसेको तीनदिने ११ सदस्यीय जुरीले गत जुलाई ७ मा निर्णय गर्दै अभियुक्तलाई तुरुन्त कोर्टमा उपस्थित गराउन आदेश दिएको छ । तर यसअघि प्रहरीसँग आफ्नो कर्तुत पुगेको शंका पाउनासाथ अभियुक्त नेपाल भागेको बताइएको छ ।

 

अदालतबाट हालै जारी सार्वजनिक सूचना (जुन यहाँको समर्भिल विक्ली न्युज पपेरमा समेत प्रकाशित छ) का अनुसार कोइरालाले बालिकालाई कठोर यातनासहित जबरजस्ती बलात्कार गरेको, १४ वर्षभन्दा कम उमेरकी बालिकालाई संघातिक आक्रमण र हमला गरेको, कोर्टको आदेश उल्लंघन गरेकोजस्ता संगीन आरोप लगाइएको छ ।

आजको नेपाल समाचार पत्रमा याे खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्