दरबार स्कूलको फेरिएको स्वरुप (भिडियोसहित)



काठमाडौं : २०७२ साल बैशाख १२ गते शनिवार मध्यान्नमा ठुलो धक्का महशुस भयो । काठमाडौं उपत्यकालाई चिरिदिएको यो धक्का आणविक हतियार फुटे जत्तिकै शक्तिशाली हुन पुग्यो । धेरै जनधनको क्षती भयो । २०७२ बैशाख १२ गतेको महाभूकम्प हरेक नेपालीको मानसपटलमा अझैँ पनि ताजै छ ।

भूकम्पका कारण राजधानीको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैबाट ढलेर ध्वस्त भयो । अहिले धरहराको पुनर्निर्माणको कार्य भइरहेको छ ।

रानीपोखरी पनि भत्कियो । लामो विवाद पछि अन्ततः त्यहाँको निर्माणकार्य भइरहेको छ । साथै, भूकम्पका कारण काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू केही आशिंक र पूर्ण रुपमा भत्किए ।

नेपालको पहिलो विद्यालय ‘दरबार हाई स्कूल’ पनि भत्कियो । एकातिर जिर्ण अवस्थामा रहेको स्कूल त्यसमा पनि भुकम्पले पुरै विथोलिदियो । तर भूकम्पले पूर्णरूपमा क्षति पु-याएको सो स्कूलको गत साउनमा पुनर्निर्माणको शिलान्यास भएपछि निर्माण शुरु गरिएको थियो र त्यहाँको निर्माण अहिले अन्तिम चरणमा पुगेको छ ।

बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूलको निर्माणकार्य धमाधम भइरहेको बेला त्यहाँका स्थानीय र सर्वसाधारण हर्षित भएका छन् ।

मंगलबार मध्यान्नमा नरेन्द्र बज्रर्चाय निर्माणधिन दरबार हाई स्कूलतर्फ हेरेर मुस्कुराउँदै थिए । सधै रत्नपार्कको बाटो भएर यात्रा गर्ने उनी दरबार हाई स्कूलको पुरानो र नयाँ भवनका साक्षी हुन् । भूकम्पले स्कुल भत्किएपछि उनलाई पुरै रत्नपार्क कुरुप लाग्यो । मनमा दुख पलायो । भन्छन्, ‘शहरको मुटुमा रहेको ठूलो स्कूल हेर्दा पनि उराठ लाग्थ्यो।’

दरबार हाई स्कूलको संरचना फेरिएको भएपनि पुरानै भवनको आकृति झल्किएको बताउँछन् उनी ।
बज्रर्चाय मात्रै हैन बद्रि सपकोटालाई पनि पुरानो दरबार स्कूलको सम्झना छ । नयाँ बनिरहेको भवन तर्फ देखाउँदै उनले भने– ‘पहिले हेर्दा पनि यसको बनोट चाहि यस्तै नै हो । पहिलाको त पुरै जिर्ण काम नलाग्ने हामीले देख्दा पनि फोहोर थियो तर त्यसको तुलनामा यो धेरै सफा अनि राम्रो पनि छ ।’ निर्माणको काम दु्रत गतिमा हुँदा खुसी छन् उनी । अन्य पुनः निर्माणको काम सुस्त गतिमा भइरहेको देख्दा दुखी हुने सापकोटा देशको पहिलो स्कूल फेरी नयाँ स्वरुपमा बन्दै गरेको देख्दा आनन्दित हुन्छन् ।

आफूले धेरै अध्ययन गर्न नपाए पनि भूकम्पले स्कूलमा पु-याएको क्षतिले संगिता मर्हजनको मन खिन्न भएको थियो । तर स्कूलको पुनःनिर्माणसँगै स्कूलसँग जोडिएका यादहरू फेरी ताजा भएको छ भने आजभोली उक्त बाटो ओहरदोहर गर्दा उनी मुस्कुराउँछिन् ।

दरबार हाई स्कूल निर्माणको कामअन्तर्गत अहिले ढोका राख्ने, रङ लगाउने, आँगनको छेउमा पर्खाल लगाउने काम धमाधम भइरहेको छ भने अन्य काम सकिसकेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी छ ।

वि।सं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था भएको थियो ।

विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकोमा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्शनले पाएको छ । तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरिरहेका छन् ।

८५ करोड रुपैँयाको लागतमा नौ रोपनी जमीनमा निर्माण भइरहेको यो विद्यालयको भवन चारतले र ४० कक्षाकोठा हुने भएको छ । यस भवनको नमूना ‘चाइना एभिएशन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । यस्तै माघ महिना भित्रै नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी यसको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्