खड्गभवानीको गुठी जग्गा अतिक्रमण



म्याग्दी : बेनी नगरपालिका २ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक कोत (खड्गभवानी) को बगरफाँटमा अवस्थित गुठी जग्गा अतिक्रमणको चपेटामा परेको छ ।

तत्कालीन पर्वतराज्यअन्तर्गतको शक्तिशाली थुम (कमाइ खानु भनेर बिर्तामा दिएको राज्य) ज्यामरुककोटका अन्तिम राजा भर्तिबम मल्लको अन्त्यपछि खड्गभवानी कोतको नाममा रहेको बनेपा २ बगरफाँटको १२ रोपनी ६ आना क्षेत्रफल जग्गामध्ये करिब ३ रोपनी जग्गा अतिक्रमण भएको स्थानीयको गुनासो छ । 

जग्गा अतिक्रमण भएको बारेमा पटकपटक जानकारी गराउँदा पनि सम्बन्धित निकाय मौन रहेको गुठीयारहरुले बताएका छन् । खड्ग भवानी कोतको नाममा जग्गा धनी प्रमाण पुर्जा रहेको करिब ३३ रोपनी जग्गामध्ये २० रोपनी जग्गा ज्यामरुककोटको भकुन्डे क्षेत्रमा र १२ रोपनी ६ आना जग्गा बगरफाँटको कुरुङदीमा रहेको खड्ग भवानी कोत पूजा एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।

 

‘गुठी जग्गा अतिक्रमण भएको भन्ने गुनासो आएको छ, वडाअध्यक्षसहित समितिका पदाधिकारी गएर एकपटक निरीक्षण पनि गरेको हो’, अध्यक्ष घिमिरेले भने, ‘अब छिटै नापी लगेर केकति अतिक्रमण भएको छ वा छैन नाप जाँच गर्नेछु ।’

सापकोटा थरका ब्राह्मणले उक्त जग्गा पुस्तौंदेखि भोगचलन गर्दै आएका छन् । पछिल्लो समयमा अतिक्रमण, पहिरो र बाटोका कारण आफूहरुलाई मर्का परेको गुठीयार तया खड्गभवानी कोतका पुजारी हरिप्रसाद शर्माले बताए । खड्गभवानी कोतमा सापकोटा थरका ब्राह्मण नै पुजारी हुनुपर्ने मान्यताअनुसार पुस्तौंदेखि सो कोतमा दसैंका दस दिनसम्म सापकोटा ब्राह्मणहरुबाट पुजाआजा हुने गर्छ । त्यसका अतिरिक्त चैतेदसैं, नागपञ्चमी, साउने संक्रान्तिलगायतका पर्वहरुमा पनि सापकोटा गुठीयारहरुले पूजाआजा गर्दै आएका छन् ।

पुस्तौंदेखि खड्गभवानी कोतमा पूजाआजा गर्दै आएका ब्राह्मणका अतिरिक्त घर्ती र थापा थरका क्षेत्रीहरुले पनि गुठी जग्गाको भोगचलन गर्दै आएका छन् । गुठीयारहरुले गुठी जग्गाको भोगचलन गरेबापत आआफ्नो जिम्मेवारीको काम गर्नुका साथै कोत पूजा तथा गुठी व्यवस्थापन समितिलाई निर्धारित शुल्क समेत बुझाउनुपर्ने गुठीयार कृष्णबहादुर घर्तीले बताए । 

चार–पाँच पुस्तादेखि भोगचलन गर्दै आए पनि गुठीयारहरुलाई जग्गाको कुनै कागजात दिइएको छैन । देवगुठीअन्तर्गत दर्ता सो जग्गा किनबेच गर्न नमिल्ने भएका कारण समस्या उत्पन्न भएको समितिका अध्यक्ष घिमिरेको भनाइ रहेको छ ।

 

गुठीयारहरुले नै संरक्षण र प्रयोग गर्दै आएको सो जग्गा अतिक्रमण हुने क्रम बढ्दै गएपछि उनीहरुले बेनपा २ का वडाअध्यक्ष राLबहादुर थापा र गुठी व्यवस्थापन समितिका अध्यक्ष घिमिरेलाई जानकारी गराए पनि कुनै सुनुवाइ भएको छैन । वडाअध्यक्ष थापाले गुठी व्यवस्थापन समितिले जग्गाको प्रमाण पुर्जासहित वडा कार्यालयमा निवेदन दिए प्रक्रिया अघि बढाउन सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्