नेपालको लगातार दोस्रो जित



काठमाडाैं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार तेर्थाई क्रिकेट मैदानमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

 

मलेसियाले प्रस्तुत गरेको ६२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १७ औं ओभरमा पूरा गर्यो । नेपालका लागि रोमा थापाले सर्वाधिक २० रनको योगदान दिंदै जितसम्म डोर्‍याइन । उनले २४ बलको सामना गर्दै १ चौका प्रहार गरिन् । त्यसअघि ओपनर सिता रानामगर १५ रनमा रनआउट भएकी थिइन् भने अर्की ओपनर काजल श्रेष्ठले ६ रनमात्र जोडिन ।

 

इन्दु वर्माले ३ रनको योगदान दिंदा सरिता मगरले खाता नखोल्दै रनआउट भइन् । नेपालका लागि ममता कुमारी चौधरी ९ रनमा नटआउट रहिन । मलेसियाका लागि  इन्तान जफार र ऐना हसिमले १-१ विकेट हात पारे ।

 

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले १९.३ ओभरमा अल आउट हुँदै ६१ रनमा समेटियो । मलेसियाका लागि युसिरिना यकोपले ११, सोलो टिजीन यी १२, मेस एलियसा एसमिन र विनिफ्रेड डुराईसिंगमले समान ९-९ रन जोडे । क्रिस्टीना नीना बारेट र इन्टन जाफरले समान ४ रन बटुले ।

 

नेपालका लागि सरिता मगरले घातक बलिङ गरिन् । सरिताले ३.३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन् । त्यस्तै नेरी थापा,इन्दु बर्मा र कविता कुँवरले समान एक-एक विकेट लिए ।

 

नेपालले प्रतियोगिताको पहिलो खेलमा शनिबार चीनलाई १० विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको थियो ।

 

उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन्।

 

नेपालले आफ्नो तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्