सुरु भयो अपर तामाकोसीको सेयर कारोबार



काठमाडौं : पुँजीबजारमा अपर तामाकोसी हाइड्रोपावरको सेयर कारोबार आइतबारदेखि सुरु भएको छ । कम्पनीले १० करोड ५९ लाख कित्ता सेयर बिहीबार सूचीकरण गराएको थियो ।

नेपाल स्टक एक्सचेन्जले तामाकोसीको सेयर कारोबारका लागि ७४ रुपैयाँ ८९ पैसादेखि २२४ रुपैयाँ ६७ पैसा ओपन रेन्ज दिएको छ । आइतबार बजार खुलेदेखि नै तामाकोसीको सेयर २२४ रुपैयाँमा किनबेच भइरहेको छ भने यही माथिल्लो रेन्जमा एक लाखभन्दा बढी कित्ता किन्न खरिदकर्ताले अर्डर दिएका छन् । अपर तामाकोसीले सेयर कारोबारका लागि ‘युपिपिइआर’ संकेत पाएको छ । 

 

सर्वसाधारण लगानीकर्ता तथा सञ्चयकोषको सञ्चयकर्ता भएबापत सेयर लिएकाले नेप्सेमार्फत बिक्री गर्न सक्छन् । स्थानीय बासिन्दाले किनेको सेयर भने ३ वर्षसम्म कारोबार हुनेछैन ।

अपर तामाकोसीले गत कात्तिक १५ देखि १९ गतेसम्म १ करोड ५८ लाख ८५ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो । यसमध्ये १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त सेयरको बाँडफाँट मंसिर ११ गते भएको हो ।

प्रतिक्रिया दिनुहोस्