पद प्राप्ति नभएका कारणले केही नेताबाट तुष्टि प्रकट भइरहेको छ : नेकपा नेता सूर्य थापा


पार्टी एकता भएको २१ महिनापछि बस्न लागेको केन्द्रीय समितिको बैठकले के निष्कर्ष निकाल्ने देख्नुहुन्छ ?
पार्टी एकता भएको लामो समयपछि व्यवस्थित ढंगले एजेण्डासहित नेकपाको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक केही ढिलाई भएको पक्कै हो । तर, यसले मुलुकको राजनीतिक र समसामायिक विषयमा महत्व राख्नेगरी निष्कर्ष निकाल्नेछ । खासगरी पार्टी सचिवालय र स्थायी समितिको बैठकले गरेका निर्णयहरुको अनुमोदन गर्नेछ भने अध्यक्षद्वयका तर्फबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, महासचिवले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव उपर घनीभुत छलफल गरी आवश्यकता र औचित्यताका आधारमा सुझावसहित पारित गर्ने छ ।

केन्द्रीय समितिको बैठकले पार्टीलाई अझ एकताबद्ध ब्यवस्थित र सुदृढ बनाउन मदत गर्ने छ । पार्टीभित्र देखा परेको अराजकता, गुटबन्दी, पूर्ववर्ती समूहधारको अन्त्य गरी पार्टीलाई सशक्त जीवन्त र अनुशासनबद्ध बनाउन बैठकले महत्वपूर्ण भूमिका खेल्नेछ । यसले राष्ट्रिय राजनीति र समसामयिक विषयमा घोषणापत्रमार्फत आफ्नो दृष्टिकोण सार्वजनिक गर्नेछ ।

तपाईले पार्टीभित्र गुटबन्दी छ भन्ने कुरालाई स्वीकार गर्नुभएको हो त ?
पार्टीभित्र पूर्ववर्ती धारहरु जीवित भएको देखिन्छ । कतिपय मामिलामा पूर्व माओवादी केन्द्रलाई एकताबद्ध बनाएर पूर्व एमालेधारभित्र खेल्न खोजिरहेको गुनासो सुनिन्छ भने पूर्व एमालेभित्र पार्टी अझै एकीकरकण भइनसकेको गुनासो छ । अब अतितमुखी भएर होइन् भविष्यमुखी भएर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको विकल्प छैन । चाहे पानी र चिनी जस्तै अन्तरघुलन होस् वा नुन र पानी जस्तो घुलन होस् । यो हिसाबले पार्टीलाई अगाडी बढाउनुपर्दछ ।

पानी र तेल जस्तो तैरिनेगरी भइरहेका अभ्यास र परम्परालाई तोड्दै पार्टी एकताबद्ध भएको सन्देश कार्यकर्ताले अनुभूत हुनेगरी नेताहरुले बरब्यवहार र कार्यशैली प्रस्तुत गर्नुपर्दछ । त्यसैगरी जिम्मेवारी बाँडफाँडमा पनि पुरानो लिगेसी वा पुरानो धार र आफु निकटको भनेर होइन योग्यता, क्षमता र जनतामा लोकप्रिय ब्यक्तिलाई छनौट गर्ने पद्धतिको विकास गर्नुपर्छ । अहिले यस्तो नहुँदा केही समस्याहरु र केही गुनासाहरु देखा परेका छन् यसलाई समयमै उचित ढंगले ब्यवस्थापन गर्न सक्नुपर्दछ । अहिले पनि पुरानो पक्षलाई मानस्पटलमा राखेर त्यो तेरो र यो मेरो भन्ने ढंगले अगाडी बढियो भने एकछिनलाई आत्मसन्तुष्टि त मिल्ला तर पार्टीलाई सही दिशातर्फ डोर्याउँदैन ।

अहिले कतिपय केन्द्रीय नेताहरु नै चाहे एमसीसीको विषय होस् वा अन्य विषय, सरकारबिरुद्ध आक्रामक ढंगले प्रस्तुत भएको देखिन्छ नि ?
कतिपय नेताहरु अहिले सरकारबिरुद्ध निरन्तर लागिपरेको देखिन्छ । ती नेताहरु आफूलाई पद प्राप्त गर्न नसकेको रिस सरकारबिरुद्ध फेरिहेका छन् । उनीहरुले पद प्राप्ति नगरेका कारणले यसरी तुष्टि प्रकट भइरहेको छ । यो कुरा धेरै कार्यकर्ताहरुले बझिसकेको अवस्था पनि छ । अहिले सरकार र पार्टीका बिरुद्ध जबरजस्त प्रचार युद्ध छेडिएको छ, सरकारले केही गरेन भन्ने हल्ला मच्चाइएको छ । तर, वास्तवमा सरकारले राम्रा काम गरिरहेको छ । सरकारका विषयमा हामीले अहिलेसम्म भएगरेका कामहरु लिपिबद्ध पारेर केही दिनमै सार्वजनिक गर्नेछौ । त्यसपछि सरकारबिरुद्ध फैलाइएका भ्रमका वेलुन फुट्नेछन् । ती अफबाह पानीको फोका साबित हुनेछन्

अहिले सरकार परिणाममुखी काममा जुटेको छ । जसको नेतृत्व प्रधानमन्त्रीले गरिहनुभएको छ । प्रतिकूल स्वास्थ्यको बाबजुट पनि उहाँ जनता र देशको विकासका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँको खटाईले हामीलाई पनि उर्जा मिलेको छ ।

जहाँसम्म एमसीसीको विषय हो, केही नेताहरु यसलाई बुझेर पनि आम जनमानसमा भ्रम सिर्जना गरिरहेका छन् । एमसीसी अमेरिकी जनताको करबाट अमेरिकी सरकारले नेपालको पूर्वाधार विकासको निम्ति अनुदानबापत सहयोग गर्न खोजिरहेको छ ।

नेपालको पूर्वाधार विकास र गरिबी तथा पछौटेपनको अन्त्यका निम्ति अमेरिकी सरकारले नेपाललाई सहयोग गर्न खोजिरहेको छ । प्रधानमन्त्रीज्युको समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गर्न र जनताको आकंक्षाअनुरुप नेपालको विकास गर्न यो रकम जरुरी छ । नेपाल सरकार र अमेरिकी सरकारले यस विषयमा खुला र खुलस्त ढंगले आफ्ना धारणा सार्वजनिक गरिसकेको अवस्था छ । तर, कतिपय नेताहले यसलाई विषयान्तर गरेर ईन्डोप्यासिफिक गठबन्धन अन्तर्गत हो भन्दै जनतामा भ्रम छरिरहेका छन् । तर, एमसीसी र ईन्डोप्यासिफिक गठबन्धन बेग्लाबेग्लै विषय हुन् ।

एमसीसीसँग त्यो गठबन्धनको कुनै साईनो छैन । त्यसैले एमसीसी नेपालको विकासका निम्ति अपरिहार्य छ । यो अहिलेको सरकारले मात्र गरेको होइन सन् २०१२ देखि प्रकृया बढेर यहाँसम्म आएको हो । यस विषयमा यसअघिका ६–६ जना तत्कालिन प्रधानमन्त्रीहरुको संलग्नता पनि रहेको छ । हामी जुन एमसीएको प्रक्रियामा बढेका छौँ, यो आवद्यिक रुपमा ५ वर्षका निम्ति सम्झौता भएको विषय हो । ५ वर्षसम्मको अवधि तोकिएको कार्यक्रम हो । काठमाडौंको लप्सेफेदीदेखि, नुवाकोटको रातामाटे, दमौली, हेटौँडा, बुटवल हुँदै नेपाल–भारतबीच अन्तरदेशीय विद्युत प्रशारण लाइन, केही सडकको स्तरोन्नतिलगायतका कामहरु हुनेछन् । यसलाई गलत रुपमा चीनलाई घेरा हाल्ने, नेपालमा अमेरिकी सैनिक ल्याउनेजस्ता तथ्यहिन र मनगढन्ते कुरा उछालेर विषयान्तर किन गर्ने ?

नेपालमा सन् १९३७ पछि वैदेशिक सहयोगको कुरा आयो । १९४७ पछि अनुदान आए । ४० भन्दा बढी एजेन्सीसँग १ लाखभन्दा बढी सम्झौता भएका छन् । कुन सम्झौतामा दाताको रुचि हुँदैन ? कुन सम्झौतामा राजनीतिक कुरा हुँदैन ? कुन सम्झौतामा व्यापारिक कुरा हुँदैन र कुन सम्झौतामा आर्थिक एवं मानवीय सरोकाराको कुरा हुँदैन ? यी सबै कुरा हरेक सम्झौतामा अन्तरनिहीत हुन्छन । अमेरिकाको विषयमा पनि यो अहिलेको सरकारले ल्याउन खोजेको विषय होइन् । सन् २०१७ मे मा वासिङटनमा भएको सम्झौताअनुसार यो अगाडि बढेको हो । नेपालको अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणका निम्ति लगानी हुने कुरा हो । यसमा इण्डोप्यासिफिकको कुरै छैन । सम्झौतामा हुँदै नभएको कुरा उछालेर भ्रम छर्नु रावलजीको बकवास मात्र हो ।

तपाईको पार्टीका नेता भीम रावलले ‘मलाई बालुवाटारबाट मार्ने धम्की आयो’ भन्नुभएको थियो, वास्तविकता के हो ?
केही समय अघि उहाँले एउटा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै यस ढंगले बोलेको एउटा गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भएपछि मैले भनेको छु, उहाँले सपनामा वा निद्रामा त्यस्तो वा तन्द्रामा त्यस्तो देख्नु भएको होला । तर, कसले सोच्नसक्छ कि भीम रावलजत्तिको वा कोही पनि मान्छेलाई बालुवाटारबाट ज्यानको धम्की दिने ?, यो सोच्न पनि नसकन् कुरा हो । त्यसबेला मैले उहाँको कविताको विषयलाई लिएर टिप्पणी मात्र गरेको हुँ । उहाँलाई भनिएको कति हो भने, उहाँको कथित कवितामा तथ्यहिन, आत्मभत्र्सना गरिएको, तथ्यको भ्रष्टीकरण गरिएको, निन्दा गरिएको र बालुवाटारबाट कालो मुस्लो धुवाँ निस्कियो भन्ने तथाकथित कविताको मैले आलोचना गरेको हो । र, म प्रष्ट भन्न चाहन्छु, रावलजी यो सरकार बनेयता कुनै एउटा विन्दुमा पनि सरकारको प्रतिरक्षा, सरकारको राम्रो कामको समर्थनमा होइन् यस्तै वाहियात कुराहरु गरेर सरकारलाई बदनाम गर्ने, सरकारका कामहरुलाई विवादित बनाउने, कमिकमजोरी छन् भने तिनलाई अतिरञ्जना गर्ने र सरकारलाई लोकप्रिय हुनबाट जनताको ध्यान अन्यत्रै मोड्ने काममा तल्लीन हुनुहुन्छ । यो उहाँको कमजोरी हो । खासगरी सत्तारुढ दलको नेता, सांसद होइन्, तमाम आफ्ना कुण्ठाहरुले भरिपूर्ण भएर प्रतिपक्षभन्दा पनि अझ दुई कदम अगाडि बढेर बोल्दै र गतिविधि गर्दै आउनुभएको छ । एक होइन अनेक प्रकरणमा उहाँको यस्तो गलत रवैया उदांगै भएको छ । उहाँले पार्टीभित्र गलत प्रवृत्तिको बिजारोपण गर्दै हुनुहुन्छ । जुन निकै घातक हो ।

तर भीम रावलले आफूले राष्ट्रियता सम्बन्धि कुरा उठाउँदा आफूमाथि खतरा भएको सार्वजनिक गर्नुभएको छ त ?

उहाँले पार्टी र सरकारबिरुद्ध जुन खालको विषवमन गरिरहनुभएको छ त्यस्को असर भोली चुनावमा जाँदा देखिन्छ । उहाँकै कार्यक्षेत्रमा आफ्ना मतदातामाझ जाँदा त्यसले कति ठूलो असर पारेको रहेछ भनेर त्यही बेला देख्नुहुन्छ । उहाँले भनेका कुराहरुलाई उहाँकै मतदाताहरुलाई दिगभ्रमित पार्नका लागि प्रयोग गरिने छन् । उहाँ आज बोलिरहेका कुराहरु त्यसका निम्ति दुरुपयोग गरिने छन् । त्यसबेला पछुतो मानेर बस्नुभन्दा आजै बिचार गर्दा उत्तम हुन्छ । आज उहाँलाई विभिन्न उद्देश्यले उचाल्नेहरु कसैले पनि साथ दिने छैनन् । पार्टीका इमान्दार नेता कार्यकर्ताहरु, नेकपालाई माया गर्ने मतदाता अनि यो देशलाई माया गर्ने जनताले मात्र साथ दिने छन् । त्यो बेला रावलजी तिनै जनताको बलमा यहाँसम्म आइपुग्नु भएको हो । रावलजीले लाइसेन्स दिएर देशभक्त हुने, अन्यथा नहुने होइन् । देशभक्ति आफ्ना कर्मले, आफ्ना व्यवहारले, आफ्नो पौरखले, देशप्रतिको मायाममताले र देशप्रतिको इमान्दार सेवाभावले प्रकट हुने कुरा हो । यस्ता एकदुई प्रकरणमा म देशभक्त भएँ भनेर हिजो पनि अनेकन् मान्छे निस्किएका थिए ।

तिनीहरुले आफूलाई कति टिकाए ? आज कहाँ छन् ? रावलजीलाई देशभक्तका रुपमा यो पार्टीले नै चिनाउने हो । पार्टीको संरचनाले चिनाउने हो । व्यक्तिका रुपमा एक्लो बृहस्पति बनेर, सरकारको निरन्तर आलोचना गरेर उहाँका एजेण्डाहरु आज के भएका छन् ? सीके राउतलाई बिखण्डनकारी धन्दाबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउँदा उहाँको किन टाउको दुख्छ ? शून्य उपस्थिति भएको ठाउँमा २ वटा सिट लाभ हुने गरी राजपासँग भएको सम्झौतामा उहाँको किन चित्त दुख्छ ? अनि देशभक्तिको कुरा किन ठाउँ कुठाउँ ? मचाँहि यो प्रश्न सोध्न चाहन्छु ?

नेता भीम रावलले यो सरकारले धेरै गलत काम गरेको छ भनिरहनुभएको छ के त्यस्तै हो त ?
हेर्नुहोस्, सरकारले चीनसँग नाकाहरु खोल्ने, उत्तर–दक्षिण करिडोरहरु विस्तार गर्ने, बन्दरगाहसम्म जाने सुविधा ल्याउने, पारवहन सन्धि गर्ने काम राष्ट्रघात हो भने राष्ट्रवादको परिभाषा बदल्नुपर्ने भयो १ तर उहाँले त्यसो भन्नुभएको छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन ।

नेपालमा जुद्धसम्शेर प्रधानमन्त्री भएको बेलाजस्तो किताबका कुरा पढेर आफूलाई त्यही समयका पात्रमा फिट गर्ने खालको कुरा नगर्दा राम्रो हुन्छ । गद्दार काउत्की पढेर मोहनविक्रम सिहले गद्दार पुष्पलाल लेख्नुभयो । तर, मोहनविक्रम सिहले आफ्नो जीवनमा नै त्यो गल्ती सच्चाउनुपर्ने भयो । रावलजीले पनि किताबमा पढेका आधारमा आफूलाई हिरोका रुपमा प्रस्तुत गर्ने प्रयास गर्न आवश्यक छैन । उहाँ पटक–पटक मन्त्री भइसक्नुभएको व्यक्ति हो । उहाँ उपप्रधानमन्त्री हुँदा, पर्यटनमन्त्री हुँदा, रक्षामन्त्री, गृहमन्त्री, हुँदा वा कृषि र वनमन्त्री झलनाथ खनालको स्वकीय सचिव हुँदा के गर्नुभयो ? विभिन्न समितिमा हुँदा के गर्नुभयो ? यो गम्भीर प्रश्न हो । चन्द्र शम्शेर राणाले सतीप्रथा उन्मूलन गरे । कमराकमारी प्रथा उन्मूलन गरे । रावलजी हाम्रो पार्टीको नेता हुनुहुन्छ । सुदूरपश्चिम क्षेत्रमा आज पनि छाउपडी प्रथा छ भन्दा उहाँ किन बुरुक्क उफ्रिने ? त्यसको अन्त्य गर्नका निम्ति उहाँको के भूमिका रह्यो त ? उहाँजस्ता नेताहरुको के भूमिका रह्यो त ? आफूले टेकेको जमिन र आफूले खामेको आकाशमा उभिएर भूमिका खेल्ने होइन र ? सामाजिक परिवर्तनमा सकारात्मक भूमिका खेल्ने हो भन्ने कुराको हेक्का राख्नुपर्छ कि पर्दैन ?

तर भीम रावलजीले सरकारको आलोचना गर्दा तपाईहरु किन तर्सिनुपर्ने ?
मेरो बुझाईमा रावलजीले धेरै आत्मकेन्द्रित भएर सरकारले गल्ती ग-यो भन्दै भ्रमको हावाहुरी सिर्जना गरेर केही हुन्न । सरकारले गरेका कामहरुको सन्दर्भमा सरकार जवाफदेही छ ।

प्रधानमन्त्रीज्यूले नेतृत्व गरेको यो सरकारले गरेका कामहरुको बारेमा सिंगो सरकार, पार्टी जवाफदेही भएर अगाडि बढ्ने काम हुन्छ । उहाँले आफ्ना कुराहरु आफ्नो ठाउँमा राख्न पाउनुभयो । तर उहाँ प्रतिपक्षीभन्दा पनि तीन कदम अघि बढेर सरकाको बिरोध गरिरहनुभएको छ त्यो सह्य विषय होईन । किन भने उहाँलाई अहिलेसम्म पहिचान दिएको यही संगठन र पार्टीले नै हो नी

आकाश खस्न आँट्यो जस्तो के काम भएको छ र आलोचना गर्नुप¥यो ? । अहिले उहाँकै कारण परिस्थिति कस्तो छ भने, मानौं भीम रावलजी नभइदिएको भए देशभक्तिको कुरा कसले उठाइदिन्थ्यो जस्तो गरिरहनु भएको छ । यस्ता वाहियात कुरा नगरौँ । केपी शर्मा ओली नेतृत्वको सरकारका कामहरु देशको हितमा भएनन्, अनि रावलजीले देशभक्तिको कुरा गरेर मानौँ यो देश चलेको छ, राष्ट्रियता जोगिएको छजस्तो कुरा नगरौँ । उहाँले सरकारलाई कहाँ समर्थन गर्नुभयो ? पार्टीलाई कहाँ प्रतिरक्षा गर्नुभयो ? यो मूल विषय हो । उहाँ मन्त्री हुँदा सबै राम्रो हुने, मन्त्री नहुँदा सबै नराम्रो हुने त होइन नि १ यस्तो पनि हुन्छ ?

रावलजी रक्षामन्त्री र गृहमन्त्री हुँदा कालापानीमा भारतीय सुरक्षा फौज थियो त १ उहाँको जानकारीमा त्यो थियो त १ उहाँले चुइक्क कतै कुरा उठाउनुभयो त ? कही उठाएको नोटिसमा छ ? कही सीमा सुरक्षा पोष्ट राखेको निर्णय छ ? अहिलेको सरकारले त ११४ स्थानमा सीमा सुरक्षा पोष्ट राख्ने निर्णय गरिसकेको छ । आज कालापानीमा के भइराखेको छ ? त्यहाँको स्थलगत स्थिति बुझ्नुस न १ कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता क्षेत्रमा सीमा समस्या छ । दुबै देशका प्रधानमन्त्रीको तहमा कुरा भएर सीमा समस्या छ भन्ने साझा स्वीकारोक्ति छ । अकस्मात् भारतले राजनीतिक नक्सा सार्वजनिक ग¥यो । त्यो नक्साचाँहि अहिलेको होइन, शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा जारी गरिएको नक्सा नै हो । त्यसपछि परराष्ट्र मन्त्रालयले एकतर्फी रुपमा सार्वजनिक गरेको नक्सा स्वीकार्दैनौ भन्यो । प्रधानमन्त्रीज्यूले सर्वदलीय, सर्वपक्षीय बैठक बोलाएर त्यो नक्सा मान्दैनौं भनेर कूटनीतिक पहलद्वारा टुंग्याउने भन्नुभयो । जनवरी १ मा भारतका प्रधानमन्त्रीले टेलिफोन गर्नुहुँदा पनि प्रधानमन्त्रीज्यूले यस विषयमा कुरा राख्नुभएको छ । र, यो विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा समाधान हुन्छ । हामी नेपालको एक इन्च जमिन कसैलाई दिन्नौं र कसैको एक इन्च जमिन लिन पनि चाहन्नौं ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनबाट फैलिएको कोरोना भाइसरको त्रार पछिल्लो समय विश्वभर छ । हालसम्म चीनमा कोरोना

एजेन्सी : हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको एउटा

एजेन्सी : सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले

जनकपुरधाम : प्रदेश दुईको भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ ।

काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर

काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार

काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद

काठमाडौं : शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन

सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका

काठमाडौं : सिंहदरबारस्थित हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ । ननिभेका चुरोठका ठुटाबाट हिजो

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनलाई लिएर नागाबाबाहरु आक्रोशित भएका छन् । आज (आइतबार)

काठमाडौं : तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । झापाको