चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदमा पेस



काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि शिक्षा तथा स्वास्थ्य समितिले तयार गरेको प्रतिवदेन संघीय संसदको प्रतिनिधिसभामा पेश भएको छ।

 

 प्रतिनिधिसभाको आइतबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल गरी तयार गरिएको प्रतिवेदन पेश गरेकी हुन्। 

 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गत असार २२ गते संसदमा दर्ता भएको थियो। तिनिधिसभाको साउन १३ को बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि समितिमा पठाउने निर्णय भए बमोजिम समितिमा साउन २१ मा पुगेको थियो।

 

सभापति घर्तीले उक्त समितिले उपसमिति गठन गरेर उक्त प्रतिवेदनमाथि व्यापक बहस र छलफल भएको बताइन्। उनले प्रतिवेदन तयार पार्दा सरकार, सरोकारवाला विज्ञहरूसँग व्यापक छलफल भएपछि तयार गरिएको जानकारी दिइन्। 

 

उपसमितिले विभिन्न समयमा १५ बैठकमा छलफल भएको बताइन्। उक्त प्रतिवेदन तयार पार्न १० सदस्यीय उपसमिति गठन गरिएको थियो। प्रतिवेदनमाथि अब संसदको पूर्ण बैठकमा छलफल हुनेछ। 

 

चिकित्सा शिक्षा विधेयकको प्रतिवेदनलाई लिएर चिकित्सक डा. गोविन्द केसीले अनशन थालेका छन्। सरकार र सांसदहरूले भने डा. केसीका माग विधेयकमा सम्बोधन गरिएको बताएको छ। यता प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उक्त प्रतिवेदनको विरोध गरेका छन्। जसका कारण उक्त प्रतिवेदन समितिबाट बहुमतले पारित भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्