बजेट वितरणमा विभेद भएको सांसदको गुनासो



काठमाडौं : सांसदले बजेट विनियोजनमा सरकारले आफूहरुबीच विभेद गरेको गुनासो गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदको बीचमा अर्थ मन्त्रालयले रकम विनियोजन गर्दा विभेद गरेको बताए । उनीहरुले यसलाई सच्याउन सरकार र सदनको ध्यानाकर्षण पनि गरे । 

 

संसद् सचिवालयले हाल कारोबार गर्दै आएको एभरेस्ट बैंकको विकल्पमा राष्ट्रिय वाणिज्य बैंक अथवा अन्य कुनै सरकारी बैंकबाट कारोबार गर्न र संसद् सचिवालयमा रहेको चमेना गृह थप व्यवस्थित गर्न पनि उनीहरुले माग गरे । 

 

सरकारले हालै जारी गरेको मर्यादाक्रम सच्याउन, सरकार र डा. गोविन्द केसीका बीचमा भएको सहमति अक्षरशः पालन गर्न, निर्मला पन्तको हत्यारालाई कारबाहीको दायरामा ल्याउनसमेत सांसद्ले बैठकमा माग गरेका थिए । 

 

यसरी आफ्नोे भनाइ राख्ने सांसदमा लक्ष्मी परियार, लालकाजी गुरुङ, विनाकुमारी श्रेष्ठ, विन्दा पाण्डे, शशी श्रेष्ठ, शान्ता चौधरी, शान्तिमाया तामाङ, सत्या पहाडी, सीतादेवी यादव, हरिराज अधिकारी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल र ज्ञानेन्द्रबहादुर कार्की थिए । 

प्रतिक्रिया दिनुहोस्