मुख्यमन्त्रीलाई हटाउन यस्तो आयो लाइन



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय जनपा पार्टी(राजपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा गठबन्धन हुनासाथ भएको दुई नम्बर प्रदेशको प्रदेश सरकार परिवर्तन हुने चर्चा अहिले शिखरमा छ ।

दुई नम्बर प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुबीच मतभेद बढ्दै जादा राजपाबाट राज्यमन्त्री बनेकी डा. डिम्पलकुमारी झाले राजीनामा समेत दिएकी छन् । राज्यमन्त्री झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाकी श्रीमती हुन् । त्यसैले पनि राज्यमन्त्री झाले आफ्नो पदबाट राजीनामा दिनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । एकातिर मुख्यमन्त्रीले राजपाबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुका कारण आफूले काम गर्न नसकेको र बद्नाम भएको भन्दै असन्तुष्टिका स्वरहरु सार्वजनिक गरिरहेका छन् भने अर्कातर्फ राजपाले मुख्यमन्त्रीका कारणले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आरोप लगाउँदै आएको छ ।

यस्तो परिस्थितिका बीच दुई नम्बर प्रदेशको सरकार परिवर्तन हुने चर्चाले व्यापकता पाएको छ । उच्च श्रोतका अनुसार दुई नम्बर प्रदेशको सत्तारुढ दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समक्ष दुई वटा प्रस्ताव पुगेका छन् । यी प्रस्ताव पुगेपछि अध्यक्ष यादव चिन्ताको भुमरीमा फसेका छन् । अध्यक्ष यादवसमक्ष पुगेको प्रस्तावअनुसार समाजवादी र राजपाबीचको गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने ‘कार्ट’ को बल यादवकै हातमा दिइएको छ । यसपछि यादव तनावमा देखिएका छन् ।

उनीसमक्ष पुगेको प्रस्तावअनुसार संघीय सरकारमा राजपा सहभागी भए पनि प्रदेश सरकारमा त्यसको प्रभाव पर्न नदिन गठबन्धनलाई कायमै राख्नका लागि एउटा शर्त अघि सारिएको छ । विदेशी भूमिबाट सारिएको यो शर्तअनुसार गठबन्धन कायम राख्न मुख्यमन्त्री लालबाबु राउतलाई हटाई उनको ठाउँमा समाजवादीले अर्को व्यक्ति पठाउनुपर्नेछ । जुन कार्य यादवका लागि कठिन बनेको छ ।

यदि मुख्यमन्त्री राउतलाई नहटाएमा गठबन्धनमा समेत असर पुग्ने सन्देश यादवको कानमा पुगेको बताइन्छ । त्यस्तो परिस्थिति आएमा दुई नम्बर प्रदेश सरकार नेकपा र राजपाको गठबन्धनमा राजपाको नेतृत्वमा बन्न सक्ने आंकलन पनि गरिएको छ । राष्ट्रियसभा निर्वाचनले अहिले नेकपा र राजपाबीच घनिष्ठता बढाउँदै लगेको छ । तर, राजपाका नेता राजेन्द्र महतो भने अहिले नै प्रदेश सरकार परिवर्तनको पक्षमा देखिएका छैनन् । महतोले पहिला समाजवादी पार्टी संघीय सरकारमा सामेल हुँदा पनि प्रदेश सरकार समाजवादी र राजपाको गठबन्धनमा बनेको बताउँदै त्यसले केही असर नपुग्ने बताउँदै आएका छन् । त्यसोत राजपा संघीय सरकारमा गइहाल्ने टुङ्गो पनि लागिसकेको छैन ।

तर, मुख्यमन्त्री राउतसँग राजपाका मन्त्रीहरु र नेताहरु सन्तुष्ट देखिदैनन् । पछिल्ला दिनहरुमा समाजवादी र राजपाका प्रदेश तहका नेताहरुबीच घोचपेच चल्दै आएको छ भने मन्त्रीहरुबीच पनि मतभेद तीव्र बनेको छ । प्रदेश सरकारको भविष्य आगामी दिनमा संघीय सरकारमा राजपाको सहभागितामाथि पनि निर्भर रहने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्