चितुवा नियन्त्रणका लागि खोर



दमौली : चितुवाको आक्रमणबाट सोमबार राति तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा १० वर्षीय इशक सुनारको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ । डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिनका लागि मङ्गलबार बाख्रासहितको खोर राखेको हो ।

चितुवा नियन्त्रणका लागि यसअघि भानु नगरपालिकाका विभिन्न वडामा खोर प्रभावकारी देखिएपछि लोहीपाखामा पनि बाख्रासहितको पासो थापेर खोर राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । यसअघि भानु नगरपालिकामा पनि चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि नौ काठको खोर राखिएको छ ।

“चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी देखिएको छ, यहाँ पनि खोर राखेर चितुवा नियन्त्रणको प्रयास गरेका छौँ”, बरालले भने, “चितुवा नियन्त्रणका लागि अन्य प्रयास पनि जारी राखेका छौँ ।” केही समय अगाडि मात्रै आबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आठ वर्षीय पुजन सिंजालीको मृत्युपछि उक्त ठाउँमा पनि खोर राखिएको छ । यद्यपि उक्त खोरमा चितुवा नियन्त्रण आउन सकेको छैन ।

सोमबार मृत्यु भएका बालकको परिवारलाई डिभिजन वन कार्यालयले किरिया खर्चवापत रु ५० हजार उपलब्ध गराइसकेको छ । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायतले मङ्गलबार नै पीडित परिवारलाई भेटी सान्त्वना प्रदान गरेका थिए ।

सो क्रममा प्रतिनिधिसभा सदस्य श्रेष्ठले वन्यजन्तुका आक्रमणबाट नागरिकलाई बचाउन दीर्घकालीन रणनीति बनाउनुपर्ने बताए । गाउँमा मानिस बस्न छाडेपछि, खेतबारीमा खेती गर्न छाडेपछि, बढ्दो झाडी बुट्यानका कारण तथा वन्यजन्तुको आहारा नभएपछि चितुवा भोक मेट्न मानिसको बस्तीमा आएको सांसद श्रेष्ठले बताए ।

डिभिजन वन कार्यालयका प्रमुख बरालले चितुवाको आक्रमणबाट बच्न साँझको समयमा घर बाहिर हिँड्दा सतर्कता अपनाउनुपर्ने बताए । घर वरपरका झाडी सफा गर्ने, साँझ र बिहानको समयमा बालबालिकालाई घरबाहिर नछाडे चितुवाको आक्रमणबाट बच्न सकिने बरालले बताए ।

पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढ्दै गइरहेको बरालको भनाइ छ । बरालका अनुसार चितुवा नियन्त्रणका लागि भानु नगरपालिकामा थापिएको काठको खोरमा परेर हालसम्म पाँच र व्यास नगरपालिका–९ मा राखिएको फलामको खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आइसकेको र उक्त चितुवालाई सुरक्षितरूपमा अन्यत्रै स्थानान्तरण गरिएको छ ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बरालले बताए । “ठूलो मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकाले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ”, बरालले भने, “चितुवा नियन्त्रणका लागि सचेतनाका कार्यक्रमलाई पनि अगाडि बढाएका छौँ ।”

तनहुँमा २० महिनाको अवधिमा चितुवाको आक्रमणबाट नौ बालबालिकाको मृत्यु भइसकेको छ । चितुवाले आक्रमण गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित छन् । चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।

त्यस्तै विसं २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आबुखैरेनी गाउँपालिका–१ रानागाउँका आठ वर्षीय पुजन सिंजाली र माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको चितुवाको आक्रमण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्