नेकपाको नजरमा कांग्रेस : ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिको पार्टी (प्रतिवेदनको पूर्णपाठसहित)



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस पुँजीपती बर्गको प्रतिनिधित्व गर्ने ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिको पार्टी भएको चित्रण गरेको छ ।

बुधबारदेखी शुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो चित्रण गरिएको हो ।

‘नेपाली काँग्रेस मूलतः पुँजीपती बर्गको प्रतिनिधित्व गर्ने पार्टी भए पनि आफ्नो ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिका कारण यसले आर्थिक, सामाजिक, रुपान्तरणको प्रतिनिधित्व गर्न सक्दैन् । तथापी संविधान कार्यान्वयन र लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडी बढाउन नेपाली काँग्रेससंग आवश्यकता अनुसार सहकार्य गर्नुपर्दछ तर त्यसो गर्दा उसको प्रतिक्रियावादी चरित्रको आलोचना र भण्डाफोर गर्ने कुरालाई बिर्सनुहुँदैन’ अध्यक्षद्धय ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मधेसकेन्द्रीत राजनीतिक दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, समाजवादी पार्टी र साना वामपन्थी पार्टीहरुको नाम उल्लेख नगर्दै नेकपाले देशमा रहेका साना क्षेत्रिय पार्टी र साना वामपन्थी पार्टीहरुसंग आलोचना, सहकार्यको र एकताको नीति अनुसार उनीहरुलाई आर्थिक–सामाजिक रुपान्तरणको कार्यमा सहभागी गराउँन जोड लगाउँनु पर्ने निष्कर्ष निकालेको छ ।

विगत लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाईरहेका सामन्ती निरंकुशतावादी र प्रतिक्रियावादी दलाल तत्वहरु आज पनि अन्यौल र अस्थिरता सिर्जना गर्न ‘कसरत’ गरिरहेको नेकपाको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरुले कम्युनिष्ट पार्टी माथि अधिनायकवादीको झुठो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास जारी नै राखेका छन् । निरंकुश राजतन्त्रका पक्षपोषकहरु, परिवर्तन विरोधी यथास्थितिवादी शक्तिहरु विभिन्न रुप र रंगका साम्प्रदायिक एवं अतिवादी तत्वहरुलाई, कम्युनिष्ट पार्टीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अगाडी बढन लागेको कुरा बिल्कुल नपचेको निष्कर्ष नेकपाको रहेको छ ।

त्यस्ता तत्वहरु आफ्नो वर्ग चरित्र अनुसार अँध्यारो कोठाहरुमा बसेर प्रतिक्रान्तिको तानाबाना बुन्न नछाडेकाले उनीहरुका भ्रम र षडयन्त्रलाई सम्पुर्ण रुपले निस्तेज पार्न परिवर्तनका पक्षधर वैधानिक शक्तिहरु सजगता पुर्वक एकतावद्ध भएर अगाडी नेकपाले आह्वान गरेको छ ।

अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाउँन खोजिरहेका सामन्ती निरंकुशतावादी र प्रतिक्रियावादी दलाल तत्वहरुका बिरुद्धमा अन्तिम रुपले परास्त गर्न परिवर्तनकारी शक्तिहरुले आफ्नो एकता, सजगता, सक्रियता र समर्पण झन बढाएर लानुपर्ने निष्कर्ष नेकपाको रहेको छ ।

यस्तो छ उपनिर्वाचनको समिक्षा
हालै सम्पन्न उपनिर्वाचनको समिक्षा गर्दै नेकपाले समग्र परिणामको हिसाबले सकारात्मक भए पनि पार्टी एकतापछि भावनात्मक एकता हासिल गर्न नसकी सोचेजस्तो परिणाम आउँन नसकेको निष्कर्ष निकालेको छ ।


पार्टी एकता र एकीकरणको काम आधारभुत तहसम्म समयमै सम्पन्न हुन नसक्दा, सिंगो पार्टी पंक्तिलाई परिचालन नगरिदा, स्पष्ट कार्यविभाजन र जिम्मेवारी तोकेर खटाउँन नसकिनु कारणले उपनिर्वाचनको परिणाम सोचेजस्तो नआएको नेकपाले जनाएको छ ।

यस्तै उम्मेदवार चयन प्रक्रियामा कमी रहनु, संभाव्य उम्मेदवारहरुबारेको समाजिक प्रतिक्रिया र निजको लोकप्रियता आँकलन गर्न नसक्नु, अति आत्मविश्वासका कारण निर्वाचनसंग सम्बन्धित बिषयमा तयारी गर्ने कुरामा समुचित ध्यान नपुग्नु कारणले यस्तो परिणाम आएको नेकपा नेताको बुझाई रहेको छ ।

सरकार तथा स्थानीय तहहरुका कतिपय निर्णयहरुलाई लिएर जनतामा उत्पन्न गुनासो र असन्तुष्टिलाई विपक्षीहरुले मुख्य चुनावी मुद्धा बनाउँनु तर नेकपाले त्यसलाई समयमै चिर्न नसक्नुका साथै विगतको निर्वाचनका क्रममा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन हुन नसक्दा प्रतिकुल प्रभाव परेको निष्कर्ष नेकपाको छ ।

प्राप्त उपलब्धि, भएका सकारात्मक कामहरु र सामाजिक–आर्थिक रुपान्तरणको समग्र योजनावारे प्रभावकारी प्रचार कार्य नहुनु, विपक्षीहरुका भ्रम चिर्ने प्रभावकारी प्रचार संयन्त्र नहुनु लागतयका कारण प्रतिकुल प्रभाव परेको हो ।

भक्तपुरमा उम्मेदवार चयनमा स्थानीय जनताको मनोविज्ञान र कार्यकर्ताको चाहनाका सम्बन्धमा यथेष्ट ध्यान नपुग्नु, उम्मेदवार तय भएपछि प्रकट भएका असन्तुष्टिको समाधान गर्न नसक्नुले पार्टीको चाहना विपरित परिणाम आएको नेकपाको बुझाई रहेको छ ।

यस्तै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुप्रति जनतामा उत्पन्न गुनासो र असन्तुष्टिलाई समयमै संवोधन गर्न ध्यान नदिनु, स्थानीय तहबाट हुने निर्णयमा जनताको सरोकारलाई ध्यान दिन नसक्नु, कर निर्धारण गर्दा बस्तुनिष्ठ र व्यवहारिक बन्न नसक्नुले पार्टीको अभेद्य किल्लाको रुपमा रहदै आएको धरान उपमहानगरपालिकामा क्षति व्यहोर्नु परेको हारलाई गम्भिरतापुर्वक लिनु आवश्यक रहेको नेकपाको निष्कर्ष छ ।

अन्तर्राष्ट्रिय शक्तिको बिश्लेषण
विश्वको दोस्रो आर्थिक शक्तिबाट पहिलो बन्न अग्रसर चीनियाँ अर्थतन्त्र एवं आर्थिक विकासमा तीव्रता लिईरहेको भारतीय अर्थतन्त्र सहितको विकासले अबको विश्व शक्तिको केन्द्र एसिया बन्ने सम्भावना टड्कारो रुपमा देखा परेको नेकपाको निष्कर्ष रहेको छ ।

चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ, एसियाली पुर्वाधार विकास बैंक, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिका र भारतका बीचको ब्रिक्स आदिले त्यसका निम्ति गरिएका सचेत पहललाई नेकपाले सकारात्मक रुपमा लिएको छ ।

चीनले अघि सारेको विआरआईले विश्वव्यापीरुपमा आफ्नो कनेक्टभिटी र आर्थिक सहयोगको क्षेत्र बिस्तार गर्ने एउटा बृहत साझेदारीको रणनीतिको रुपमा काम गरिरहेको छ । नेपालले पनि विआरआईमा हस्ताक्षर गरेर आफूलाई त्यो सम्बन्ध र सहयोग बिस्तारको साझेदार बनाएको छ ।

उता संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाईराख्न नयाँ नयाँ रणनीतिको बिकास गरिरहेको निष्कर्ष नेकपाको रहेको छ ।

हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभाव बिस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा अमेरिकाले इण्डो प्यासिफिक स्टाटिज अगाडी बढाईरहेको नेकपाले जनाएको छ ।

यस्तो अवस्थामा नेकपा र सरकारले आफू कुनै पनि बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने कुरा राजनीतिक प्रतिबेदनमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । यदी सैन्य रणनीतिकै रुपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको कुरा अगाडी आएमा नेपालले त्यसप्रकारका कुनै पनि सहयोगको प्रस्ताव स्वीकार नगर्ने नेकपाले जनाएको छ ।

तर नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखी संयुक्त राज्य अमेरिका लगायत संसारका सबै देशहरुसंग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न नेपाल सधै तत्पर रहेने नेकपाको निष्कर्ष छ ।

चीन र भारतका बीचमा हुनुको नाताले देशको समग्र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुबैसंग असल छिमेकी सम्बन्ध कायम राख्दै स्वतन्त्र एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासका निमित सकारात्मक पहल बढाउँनु, दुबै छिमेकीको तीब्र आर्थिक विकासबाट लाभ लिने आर्थिक कुटनीतिमा अगाडी बढनु र मुख्य रुपमा देशको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न अगाडी बढनु नै आजको आवश्यत्ता रहेको नेकपाले जनाएको छ ।

असंलग्न विदेश नीतिका आधारमा सबैसंग मित्रता कायम गरी आफ्नो राष्ट्रको स्वतन्त्रताको रक्षा एवं जनताको आर्थिक समृद्धिको चाहना पुरा गर्न नेकपाले चाहेको छ । त्यसका निमित संसारभरीका लोकतान्त्रिक, वामपन्थी, प्रगतिशील एवं कम्युनिष्ट शक्तिहरुसंग मिरेर काम गर्न नेकपा तयार रहेको छ ।

सरकारको समिक्षा
सरकारको नेतृत्व गरिरहेको नेकपाले अनेकौं जटिलता, चुनौती र प्रतिकुलताका वावजुद संविधान कार्यान्वयन, विकास, निर्माण, सामाजिक न्याय, सामाजिक सुधार, आर्थिक बृद्धि र वैदेशिक सम्बन्ध विस्तार आदि जस्ता मुलभूत क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको निष्कर्ष निकालेको छ ।

नयाँ संविधान, नयाँ संरचना र नयाँ अभ्यासका तमाम जटिलताहरुलाई पार गर्दै तथा पार्टी एकताको संक्रमणकालिन अवस्थाका समस्याहरु झेल्दै सरकारले गरेका काम र उपलब्धीहरुको पक्ष नै मुख्य पक्ष रहेको तथ्यलाई सिंगो पार्टी पंक्ति र आम जनतामा स्थापित गर्नु पर्ने आवश्यक्ता रहेको नेकपाले जनाएको छ ।

नेकपाले यस बीचमा देखा परेका सिमा र कमजोरीहरुलाई हटाई निर्वाचनको बेला जसमक्ष गरिएका प्रतिवद्धता र घोषणालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न, संविधानको मर्म र भावना अनुसार आवश्यक बाँकी कानूनहरु समेत निर्माण गर्दै तीनवटै तहका सरकारहरुका बीचमा समुचित समन्वय कायम गर्दै जनतालाई प्रभावकारी सेवा प्रदान गर्न जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।

समुहमा छलफल
नेकपाको शुरु केन्द्रीय कमिटी बैठकमा समुह बनाएर छलफल हुने बताईएको छ । नेकपा महासचिव बिष्णु पौडेलले १५ वटा समुह बनाएर छलफल हुने बताए । राजनीतिक, विधान संशोधन लगायतका बिषयमा एक समुह बढीमा ३० केन्द्रीय सदस्य र तीन स्थायी कमिटीका सदस्य रहने गरी समुह बनाईएको छ ।

१५ समुह मध्ये चार वटा समुह पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा, तीन वटा समुह पेरिसडाँडा कार्यालयमा र आठ वटा समुह राष्ट्रियसभा गृहमा छलफल गरेपछि टोली नेताले समुहमा आएको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यो पनि:

संसदमा बोलेका देउवालाई सभागृहबाट प्रधानमन्त्रीको जवाफ

नेकपा केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्न प्रतिवन्ध !

एमसीसीले तताएको राष्ट्रिय सभागृह

नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ चैत्रमा गर्ने प्रस्ताव, हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ

अध्यक्षद्वयका तर्फबाट नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक समक्ष प्रस्तुत राजनीतिक प्रतिवेदन :-

प्रतिक्रिया दिनुहोस्