डा केसीको शरीरमा नसा नभेटिँदा रगत परिक्षण गर्न समस्या



इलाम : पाँच दिनदेखि इलाममा अनशनरत डा. गोविन्द केसीको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ। स्वास्थ्य शिक्षा सुधार लगायतका ६ वटा माग राखी गत बुधबारदेखि अनशनमा बसेका केसीको रगत तथा पिसाब परीक्षण गर्न सकिएको छैन।  

 

नसा नभेटिँदा रक्त परीक्षण गर्न नसकिएको उनका सहयोगी डा. रामकृष्ण आचार्यले जानकारी दिए। उनकाअनुसार पिसाब नआउँदा पिसाबको परीक्षण पनि गर्न सकिएको छैन। 

 

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीको यो १६ औँ अनशन हो। गत बुधबारदेखि इलाम नगरपालिकाको फूलगाछीमा उनी अनशन बसेका हुन्। यसअघि भएको सम्झौता विपरीत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि उनले त्यसलाई अनसनको मूल मुद्दा बनाएका छन्। 

 

१५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गर्न उनले माग राखेका छन्। 

प्रतिक्रिया दिनुहोस्