साझाका अवकाशप्राप्त कर्मचारीको धर्ना स्थगित



काठमाडौं : बक्यौताको ५० प्रतिशत रकम पाउने भएपछि साझा प्रकाशनमा गत साउनदेखि धर्नामा रहेका अवकाशप्राप्त कर्मचारीले आन्दोलन स्थगित गरेका छन् । 

 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा आइतबार प्रकाशनको व्यवस्थापक र आन्दोलनरत पक्षबीच भएको वार्तामा सो सहमति भएको हो । उत्पादनविहीन र रुग्ण बनेको सो संस्थाका अवकाशप्राप्त कर्मचारीको पाउनुपर्नेमध्ये ५० प्रतिशत रकम समानुपातिक रुपमा वितरणका लागि हालै अर्थ मन्त्रालयबाट आठ करोड ६४ लाख २४ हजार निकासा भएको थियो । 

 

मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा भएको वार्तामा बाँकी रकमका लागि मन्त्रालय, साझाको व्यवस्थापन र अवकाशप्राप्त कर्मचारीले सामूहिक रुपमा पहल गर्ने सहमति भएको प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए । 

 

बैठकमा सचिव मैनालीले संस्थाका व्यवस्थापक र कर्मचारीलाई उत्पादन र काममा लाग्न निर्देशनसमेत दिएका छन् । सो प्रकाशनमा विगतमा उमेरहद, स्वेच्छिक अवकाश र राजीनामा गरी कुल १ सय २८ पूर्वकर्मचारीले अवकाश हुँदा पाउनुपर्ने रकमको करिब ३० प्रतिशतमात्र यसअघि भुक्तानी पाएका थिए । 

 

सहमतिबमोजिम आफूहरुले बाँकी रहेको रकम यथाशीघ्र पाउने अपेक्षाका साथ धर्नाको कार्यक्रम स्थगन गरेको वार्तामा सहभागी आन्दोलनरत अवकाशप्राप्त कर्मचारीका प्रतिनिधि दीपक अधिकारीले बताए । उक्त रकम वितरणका लागि मन्त्रालयबाट लेखा हेर्ने एक प्रतिनिधि प्रकाशनमा जानेछन् । 

 

आफूहरुले पाउनुपर्ने रकम नपाए पुनः बहाली गरिनुपर्ने र रकम भुक्तानी गरिनुपर्ने माग राख्दै पूर्वकर्मचारीले आन्दोलन गरेपछि पछिल्लो पाँच महिनामा सो प्रकाशनमा कामको वातावरण बिथोलिएको थियो । 

 

महाप्रबन्धक शर्माले सोमबारदेखि रकम वितरण र उत्पादन सञ्चालन हुने बताए । सो संस्थाको अध्यक्ष र नेपाल सरकारबाट मनोनित हुने तीन सदस्यको आधिकारिकताबारे विवाद कायम रहेकाले लामो समयदेखि सञ्चालक समितिको बैठक बस्ने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्