राजधानीको एक होटलमा बंगलादेशी नागरिकको हत्या



काठमाडौं : काठमाडौंमा एक बंगलादेशी नागरिकको हत्या भएको खुलेको छ। काठमाडौंको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलामा बंगलादेशी नागरिक ४५ वर्षीय मोहिद्धिन अहमदको हत्या भएको आठ दिनपछि घटना सार्वजनिक भएको हो। 

महानगरीय प्रहरी वृत्त कालिमाटिका डीएसपी रुगमबहादुर कुँवरका अनुसार अहमदको हत्या माघ ७ गते राति होटलकै कोठामा भएको हो।  उनको हत्यामा बंगलादेशी नागरिककै सहभागीता भएको खुलेको डीएसपी कुँवरले बताए। ‘घटना २१ तारिख (माघ ७ गते) को हो। मृतक ट्राभल एजेन्सीका सञ्चालक भएको खुलेको छ’, डीएसपी कुँवरले भने, ‘उनको हत्या होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ मा भएको छ।’ 

अहमदको हत्यामा बंगलादेशी नागरिक ४४ वर्षीय दुला मियाँको संलग्नता भएको खुलेको छ। हत्या पछि उनी बंगलादेश भागिसकेको कुँवरले बताए। 
 
डीएसपी कुँवरका अनुसार अहमदको हत्या कुटपिटबाट भएको देखिएको छ। मृतक अहमदको पासपोर्टमा उनी सात पटक नेपाल आइसकेको देखिएको छ। उनको हत्यामा संलग्न मियाँ भने पहिलो पटक नेपाल आएको खुलेको डीएसपी कुँवरले बताए। मृतकको शव बंगलादेश पठाइसकिएको छ। 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको कुँवरले बताए। अन्नपूर्ण पोष्ट दैनिकबाट  

प्रतिक्रिया दिनुहोस्