शहीद कसलाई भन्ने ?



काठमाडौं : शहीद कसलाई भन्ने ? राजनीतिक बजारमा भनेर अनेक बहस र टिप्पणी सुनिन्छन् । कोही मानिस शहीद रहरले हुने होइन । देश र जनताप्रतिको दृढ आकाङ्क्षा, विश्वास र चाहनाको पूर्ति गर्दागर्दै कसैले ज्यानको आहुति दिनपुग्यो भने ऊ वास्तविक रूपमै शहीद हुन्छ । शहीद हुने व्यक्तित्वले केही न केही सपना देखेको हुन्छ । त्यसको पूर्तिका लागि अनवरत लागिपर्छ । सपना पूरा गर्ने क्रममा दुर्घटनावश ज्यान गयो वा शासकहरूले त्यसलाई कारबाही गर्न पुगे भने उसको सपना पूरा गराउने जिम्मेवारी र दायित्व अभियानमा संलग्न रहेकाहरूको काँधमा आइपर्छ ।

देशको समृद्धिका लागि शासन व्यवस्था बाधक छ भने त्यसको अन्त्य र नयाँ व्यवस्था कायम गर्नका लागि धेरैले आफ्नो ज्यानको बाजी लगाएर देश र जनताका निम्ति योगदान दिनुपर्ने हुन्छ । उहाँहरूको योगदानकै कारण नयाँ व्यवस्थाको आरम्भ हुन्छ । मुलुकमा अहिले लोकतन्त्र स्थापना भएको पनि शहीदकै योगदानले नै हो । देशमा गणतन्त्र स्थापना हुनुमा शहीदकै योगदान र त्याग छ । त्यसैले पनि शहीदको उच्च सम्मान र स्मरण गरिनुपर्छ ।

यही देशमा जहानियाँ राणा शासन थियो । निरङ्कुश राजतन्त्रले लामो समय शासन चलायोे । पञ्चायती व्यवस्था पनि जनताले भोग्न बाध्य भए । जनताले शोषण, अन्याय, अत्याचार, अराजकताको सामना गर्नुप-यो । राजा महाराजाहरूको दमन सहनुप¥यो । तिनीहरूको सुखभोग र विलासिताका लागि कैयौँ सर्वसाधारण नागरिकले आफ्नो जीवनको आहुति दिनुप¥यो । तिनका भोगविलासिताको साधन बन्नुप-यो । नागरिकलाई सुख प्रदान गर्न त्यस्तो गलत व्यवस्थाका अन्त्यका लागि कैयौँ व्यक्तित्वले सङ्घर्ष गर्नुप-यो ।

निरन्तर कठोरभन्दा कठोर लडाइँ लड्नुप-यो । कैयौँले आफ्नो जीवन नै उत्सर्ग गर्नुभयो । त्यसकै परिणाम आज मुलुकमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र स्थापित भयो । मुलुकमा समानता कायम भयो । मानव अधिकार सुनिश्चित भयो । शासन सत्तामा जनताका छोराछोरी पुगे । जनताका लागि जनताद्वारा नै शासन सुरु भयो । आज हामी स्वतन्त्र नागरिक भएका छौँ । आफ्नो लागि आफैँ संविधान निर्माण गरेका छौँ । हाम्रो अभिव्यक्ति स्वतन्त्रता, वाक् स्वतन्त्रता सुनिश्चित भएको छ ।

हो यसैका लागि धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दजस्ता वीर पुरुषले हाँसीहाँसी जीवन उत्सर्ग गर्नुभएको थियो । यदि हाम्रा पुर्खाहरूले योगदान नदिएको भए अहिले नागरिक स्वतन्त्र र अधिकार सम्पन्न हुने थिएनन् ।

हिजोको व्यवस्था एउटा खालको थियो । मुलुकमा जनतामाथि अन्याय, अत्याचारी तानाशाही व्यवस्था लादिएको थियो । स्वतन्त्र रूपले घुमफिर गर्न पनि सर्वसाधारणमाथि बन्देज थियो । आफ्नो काम गर्न पनि स्वतन्त्र थिएनन् नागरिक । कसैले रातभरि आफ्नो खेतबारीको काम गर्छुभन्दा पनि पाउँदैनथे । शासकको निगाहअनुसार चल्नुपथ्र्यो । शासकले श्वास लिएमा नागरिकले श्वास लिने, खाएमा खाने, हिँडडुल गरेमा गर्नेजस्तो बन्धनकारी व्यवस्था थियो । त्यही व्यवस्था अन्त्यका लागि पटकपटक राजनीतिक आन्दोलन भयो । आन्दोलनका क्रममा धेरै नेपालीका छोराछोरी शहीद हुनपुगे । धेरै घाइते भए । धेरै आफ्नो थातथलोबाट विस्थपित हुनुप¥यो तर आज व्यवस्था बदलिएको छ । नागरिक स्वतन्त्र छन् । आफ्नो काम इच्छाअनुसार गर्न पाएका छन् । मीठो मसिनो आफ्नै इच्छाले खान पाएका छन् । आफ्नै बारीमा पसिना बगाउन स्वतन्त्र भएका छन् । त्यसैले त लोकतन्त्र आएको अनुभूति गराएको छ ।

तर लोकतन्त्र कसरी आयो भन्ने हेक्का सबैले राख्नुपर्छ । यो व्यवस्था ल्याउनमा कस–कसले योगदान दिए स्मरण गरिनुपर्छ । आज खुसी भइयो भन्दैमा पुर्खाको योगदानलाई बिर्सने छुट कसैलाई छैन । पुर्खाको योगदान, त्याग र बलिदानीको उच्च कदर गरिनुपर्छ । उहाँहरूले देखेको सपना पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्छ । उहाँहरूले प्रतिपादन गरेका सिद्धान्तलाई मान्नुपर्छ । मुलुकमा खुसियाली र अमनचैन कायम गर्नुपर्छ । जनताका छोराछोरीले राज्य भएको अनुभूति गर्न पाउनुपर्छ । सबैलाई समान दृष्टिकोणले हेरिनुपर्छ । कसैलाई काखापाखा गर्नुहुँदैन । सबै नागरिक समान छौँ भन्ने भावना आत्मसात् गर्नुपर्छ । जात, धर्म र समुदायको नाममा छुवाछूत गरिनुहुन्न । सबै नागरिक समान हो भन्ने भावना अङ्गीकार गर्नुपर्छ । कसैले छोएको पानी चल्ने, कसैले छोएको नचल्ने, भान्सा चल्ने र नचल्ने हुनुहुन्न । मान्छे–मान्छेबीच विभेद कायमै रह्यो भने मुलुकमा लोकतन्त्र स्थापना भएको अनुभूति नागरिकमा हुँदैन । शासकले यसमा ध्यान दिनुपर्छ ।

अहिले शहीद घोषणा गर्ने होडबाजी चलेको देखिन्छ । कोही आपसमा झगडा गर्दा पनि शहीद घोषणा गरिदिने, गाडी दुर्घटनामा मर्दा पनि शहीद घोषणा गरिदिने । गाउँका छिमेकीबीचको सीमा विवादबारे झगडा हुँदा ज्यान गुमाउनेलाई पनि शहीद घोषणा गरिदिने, भाइ–भाइबीचको अंशबण्डाका कारण मर्नेलाई, कोही दलले कुनै दलको विरुद्धमा आमसभा, सडक प्रदर्शन गर्ने क्रममा झडपबाट ज्यान गुमाउनेलाई, खानेपानी तथा सिँचाइको बाँडफाँटमा कुरा नमिल्दा ज्यान गुमाउनेलाई पनि शहीद बनाइदिने यावत् प्रवृत्ति देखिन्छन् । यो शोभनीय होइन । यसो गर्दा देश र जनताका लागि वास्तविक रूपमा योगदान दिने शहीदको आत्मामा चोट पुग्छ । जसले देशलाई शिरमा राखे, जनतालाई आफ्नो मुटुमा राखेर आफ्नो खुसी र जीउज्यान त्यागे, उनीहरू सच्चा शहीद हुन् । जसको व्यक्तिगत स्वार्थ थिएन, केवल थियो त देश र जनताको स्वार्थ । त्यस्ता व्यक्तित्वको आत्मामा चोट पु¥याउने छुट हामी कसैलाई छैन । शासन सत्तामा रहेकालाई पनि छैन, नागरिकलाई पनि छैन तर अहिले देखिएको विकृति रोक्न कोही अग्रसर देखिँदैन । राजनीतिक सहमतिको नाममा जे पनि सहमति गरिदिने हो भने शहीदको सम्मान कहाँबाट होला र !

अहिले मानिस स्वार्थी भएका छन् । हिजो देश, जनता र समाजका लागि मानिसले काम गर्थे । आफ्नो स्वार्थ र सुखभोगलाई गौण ठान्थे तर आज ठीक उल्टो देखिएको छ । सबैले आफ्नो हितलाई केन्द्रमा राख्ने गरेका छन् । देश र जनताको हितलाई गौण मान्ने गरेका छन् । आत्मकेन्द्रित प्रवृत्ति हाबी भएको छ । त्यही कारणले हो आज शहीदको सम्मान पनि सही मानेमा हुन सकिरहेको छैन । फूलमाला र औपचारिक कार्यक्रममै सीमित भएको छ शहीद दिवस ।

दिवसको नाममा दिवस भएको छ । शासनसत्तामा पनि सक्नेको पहुँच छ, नसक्ने अधिकारबाट वञ्चित छन् । राजनीतिमा विकृति व्याप्त छ । आफ्नो मान्छेलाई पोस्ने प्रवृत्ति हाबी छ । परिवारवाद, नातावाद कायम छ । समुदायगत र जातिगत रूपमा अवसर प्रदान गर्ने प्रवृत्ति देखिन्छ । यो राम्रो विषय होइन । हिजोका हाम्रा पुर्खाले यस्तो नेपालको परिकल्पना गरेका थिएनन् । यस्तो शासन व्यवस्थाको सपना देखेका पक्कै थिएनन् । जनताका छोराछोरीको समान पहुँच, समतामूलक समाजको निर्माण गर्ने सपना बोकेका थिए होला तर आज जनताकै शासनकालमा पनि जनता पीडित हुनपुगे भने त्यो राम्रो होइन । शासनसत्तामा बस्ने, राजनीतिक दलका शीर्ष नेताले यस विषयमा ध्यान दिनुपर्छ । आफूलाई समयमै सच्याउनुपर्छ । हिजोको शासनसत्ता र आजको शासनसत्तामा समानता देखियो भने जनताको विश्वास कायम रहन सक्दैन ।

अहिले दलीय व्यवस्था छ । दलैपिच्छे विचार फरक छन् । तथापि देश र जनताको हितका निम्ति सबैको समान धारणा बन्न सक्नुपर्छ । लोकतन्त्र प्राप्तिका लागि सबै दलले आफ्नो ठाउँबाट योगदान दिए । देश र जनताको पक्षमा सबैले काम गर्ने अठोट पनि गर्ने गरेका छन् तर कुरा एकातिर व्यवहार अर्कोतिर भयो भने नागरिक त्यस्तो व्यवहार पचाउँदैनन् । समानता सबैमा लागू हुनुपर्छ । राज्यको अङ्गमा सबैको समान अधिकार हुनुपर्छ । कोहीले सुखभोग गर्ने, कोही जनता हेरेर बस्ने वातावरण बन्न दिनुहुन्न ।

आज शहीद दिवस मनाउँदै छौँ तर मुलुकमा कति शहीद पुगे सरकारसँग तथ्याङ्क छ कि छैन ? शहीद बनाउने मापदण्ड बनेको छ कि छैन ? आमनागरिकले जिज्ञासा गर्ने गरेका छन् । कोही मर्दा एक समूहले आन्दोलन ग¥यो भन्दैमा दस लाख रुपियाँ क्षतिपूर्ति दिने र शहीद घोषणा गरिहाल्ने प्रवृत्ति हामीमा व्याप्त छ । दस लाख रुपियाँ क्षतिपूर्ति दिनेबित्तिकै शहीदको दर्जा प्राप्त भइहाल्ने होइन । राजनीतिक सहमतिका नाममा जो कोही शहीदको दर्जा लिन सक्दैनन् । नेताले शहीद घोषणा गरिदिएर मात्र त्यो शहीद हुँदैन ।

शहीदको दर्जा पाउन त देश देशावरबाट उसको योगदान देखिनुपर्छ । जनताले पनि उसको काम स्मरण गर्ने खालको हुनुपर्छ । उसले दिएको योगदान समाजप्रति समर्पित थियो कि थिएन भन्ने मूल्याङ्कन आमनागरिकले गर्ने हो । शासकलाई जे गर्न पनि छुट हुँदैन, हुनुहुँदैन । देश र जनताको नजरमा सकारात्मक सन्देश प्रवाह गर्ने समुचित योगदान र प्रतिष्ठा अनिवार्य हुनुपर्छ । कुनै अराजक स्थितिलाई केही समयका लागि साम्य पार्न कुनै समूहसँग सहमति भइहाल्यो भन्दैमा शहीदको स्थान प्राप्त हुने पनि होइन । यस्तो प्रवृत्ति कायमै राख्नु हुँदैन । जो मरे पनि शहीद घोषणा गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ । कसलाई शहीद घोषणा गर्ने, कसलाई नगर्ने उचित मापदण्ड बन्नुपर्छ । शहीदको स्थान नागरिकको मनमा, मुटुमा हुन्छ । उसको राष्ट्र, राष्ट्रियता, स्वाभिमानप्रति उच्च झुकाव हुनुपर्छ । शहीदको सम्मान पनि त्यही रूपमा गर्न सक्नुपर्छ ।
(वरिष्ठ साहित्यकार प्रश्रितसँग गोरखापत्रका पत्रकार लक्की चौधरीले गर्नुभएको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्