माघ पहिलो साता प्रधानमन्त्री स्विट्जरल्यान्ड जाँदै



काठमाडौं : प्रधानमन्त्री केपी ओली माघ पहिलो साता स्विट्जरल्यान्ड जाने भएका छन् । उनी वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन माघ ६ मा स्विट्जरल्यान्ड जान लागेका हुन् । 

 

फोरमको वार्षिक बैठक जनवरी २२ देखि २५ (माघ ८ देखि माघ ११) सम्म स्विट्जरल्यान्डको डावोसमा हुने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईसहित १९ जना रहनेछन् ।

 

बैठकमा प्रधानमन्त्री ओलीले‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’सत्रको छलफलमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले‘बिओन्ड दी जीडीपी’सेसनमा समेत सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । बैठकमा विश्वका धेरैजसो मुलुकका राष्ट्रप्रमुख या सरकारप्रमुख सहभागी हुनेछन् ।

 

स्रोतकाअनुसार भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न दातृ मुलुकका सरकार प्रमुखसित या विदेशमन्त्रीसित साइडलाइन भेटवार्ता गर्ने कार्यक्रमसमेत छ । प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डका राष्ट्रपति वेली माउरासित समेत भेटवार्ताको तयारी भइरहेको छ ।

 

यसैबीच ओली स्विट्जरल्यान्ड भ्रमण सकेर फ्रान्स जाने कार्यक्रमसमेत तय भएको प्रधानमन्त्रीका एक स्राेतले जनायो । 

प्रतिक्रिया दिनुहोस्