भाडा नघटाउने ट्रकलाई काबराही गर्ने विप्लवको चेतावनी



कालिकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कर्णाली कोरिडोरमा संचालिक मालवाहक सवारी साधनले भाडा नघटाए कारबाही गर्ने चेतावनी दिएको छ । सो सडकमा चल्ने ट्रकहरूले सेना र ठेकेदारको आडमा नागरिकको ढाड नै सेक्ने गरी भाडा लिएको आरोप लगाउँदै सो पार्टीले तुरुन्त भाडा नघटाए कारबाही गर्ने चेतावनी दिएको हो । 

नेकपा कालिकोटका जिल्ला सेक्रेटरी मनीलाल ऐडी ‘रणदीप’ ले कर्णाली कोरिडोरको जिते बजारदेखि घाटा चौर तथा रास्कोटको शेरा चौरसम्म सञ्चालन हुने ट्रकहरूले प्रति किलो सामानको ७ रुपैयाँ भाडा लिएर नागरिकलाई लुटिरहेको उजुरी जनअदालतमा आएको बताए । उनले भने, ‘महँगो भाडा कायम राखी नागरिकलाई लुट्ने काम निरन्तर भए ट्रकको मालिकलाई हामी जनकारबाही गर्न बाध्य हुनेछौँ ।’ 

यता सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालकाअनुसार प्रशासनमा २०७४ साल माघ १७ गते बसेको सर्वपक्षीय बैठकले कर्णाली कोरिडोरमा मान्छेको भाडा प्रतिकिलोमिटर ९ रुपैयाँ र सामानको जितेबजारदेखी घाटा चौरसम्मको प्रतिकिलो ५ रुपैयाँ २५ पैसा तथा रास्कोट शेरा चौरसम्मको प्रतिकिलो ६ रुपैयाँ कायम गरिएको जानकारी दिए । 

उनका अनुसार सडकको अवस्था हेरेर सबै राजनीतिक दल, यातायात व्यवसायी र प्रशासनबीच छलफल गरी यो भाडा कायम गरिएको हो । तर सामान ढुवानीकर्ताले तोकिएकोभन्दा बढी भाडा लिएपछि नेकपाले कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्