एपिएफलाई ४-१ ले गराउँदै हिमालयन शेर्पा सेमीफाइनलमा



वीरगन्ज : हिमालयन शेर्पा क्लब वीरगन्जमा जारी दोस्रो विशाल मेमोरियल गोल्ड कप प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । नारायणी रंगशालामा आइतबार भएको खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपिएफलाइ ४–१ को फराकिलो अन्तरले पराजित गर्दै हिमालयन शेर्पा अन्तिम चारमा प्रवेश गरेको हो ।

हिमालयन शेर्पाका विश्वास श्रेष्ठले ह्याट्रिक गरे । खेलको ९ औँ मिनेटमा नाइजेरियन खेलाडी प्याट्रिक गोवाले पहिलो गोल गरे पछि १–० को अग्रता बनाएको हिमालयन शेर्पाका लागि श्रेष्ठले ११, ३६ र ३९ औँ मिनेटमा गोल गरे । 

एपिएफले दोस्रो हाफमा सान्त्वना गोल फर्कायो । उसका लागि ८०औं मिनेटमा रवि थिङले गोल गरे । 

आइतबारको जितसँगै सेमीफाइनलमा प्रवेश गरेको हिमालयन शेर्पा क्लबले फाइनल प्रवेशका लागि माघ २ गते आयोजक वीरगन्ज ११ सँग प्रतिस्पर्धा गर्नेछ । 

माघ ५ गते सम्म चल्ने प्रतियोगिताको विजेता टिमले कप सहित नगद पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल एक थान र प्रत्येक खेलका म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्