योजना मन्त्रीले सचिवलाई थप्पड हानेको घटनाको चौतर्फी आलोचना



जनकपुरधाम : प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको घटनाको चौतर्फी आलोचना भइरहेको छ । 

प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरधाम र मातहतमा कार्यरत कर्मचारीले विज्ञप्ति निकालेर यो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत संस्था छनोट सम्बन्धमा छलफल गर्न आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरका सचिवलाई आफ्नै कार्यकक्षमा बोलाई हातपात गर्ने कार्यले समग्र कर्मचारीको मनोबल गिरेको हाम्रो ठहर छ ।’ विज्ञप्तिमा भनिएको छ ।

कर्मचारीहरूले घटनाको न्यायिक छानबिनको माग गर्दै घटनामा संलग्नलाई कारबाही गर्न र पीडित कर्मचारीलाई न्याय दिन माग गरेका छन् । 

आइतबार फाइल लिएर कार्यकक्षमा आएका सचिव झालाई आफूले भनेको गैरसरकारी संस्थालाई योजना नपारेको भन्दै मन्त्री यादवले थप्पड हानेका थिए । 

सङ्घीय सरकारका सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजिओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले बताएका छन् । 

वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रूपमा खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्