मन्त्रीले सचिव कुटेको घटना छानबिनका लागि समिति गठन



जनकपुरधाम : प्रदेश २ सरकारले सचिव कुटिएको विषयमा छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ । आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा गठित समितिमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य छन् ।

मुख्यमन्त्री लालबाबु राउतले समितिले प्रतिवेदन बुझाएपछि मात्रै कारबाही प्रक्रिया अगाडि बढाउने जनाएका छन् । मुख्यमन्त्री राउतले आइतबार मन्त्री यादव र सचिव झासँग छुट्टा छुट्टै भेटेर घटनाबारे जानकारी लिएका छन् ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको घटनाको चौतर्फी आलोचना भइरहेको छ । 

प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरधाम र मातहतमा कार्यरत कर्मचारीले विज्ञप्ति निकालेर यो घटनाको आलोचना गरेका थिए ।  

कर्मचारीहरूले घटनाको न्यायिक छानबिनको माग गर्दै घटनामा संलग्नलाई कारबाही गर्न र पीडित कर्मचारीलाई न्याय दिन माग गरेका थिए । 

आइतबार फाइल लिएर कार्यकक्षमा आएका सचिव झालाई आफूले भनेको गैरसरकारी संस्थालाई योजना नपारेको भन्दै मन्त्री यादवले थप्पड हानेका थिए । 

सङ्घीय सरकारका सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजिओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्