जब प्रहरीकै अगाडि युवकले प्रदर्शनकारीमाथि गोली प्रहार गरे



एजेन्सी : एक युवकले प्रहरीकै अगाडि गोली ताकेको तस्बिरले विश्वकै ध्यान खिचेको छ ।

राजधानी दिल्लीमा नागरिकता संशोधन कानुन (सीएए) विरुद्धको प्रदर्शनका क्रममा एक युवकले प्रहरीकै अगाडि प्रदर्शनकारीमाथि गोली चलाएका हुन् ।

महात्मा गान्धीको पुण्य तिथिमा राजघाट जाँदै गरेको जामिया युनिभर्सिटीको र्‍यालीलाई लक्षित गरेर ती युवकले प्रहरीकै अगाडि गोली चलाएका थिए ।

गोली लागेर शादाब आलम नामक एक युवक घाइते भएका छन् । प्रहरीले गोली चलाउने युवकलाई नियन्त्रणमा लिएको छ । उनको परिचयन भने खुल्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइते युवकलाई अस्पताल भर्ना गरिएको छ ।

घटनाका प्रत्यक्षदर्शीले सीएएको विरोध गरिरहेको समूह नजिकै आएर ती युवकले धम्काउँदै गोली चलाएको जानकारी दिएका छन् । “विरोध गरिरहेकाहरूसँग बन्दुक समातेको युवकले म तिमीहरूलाई स्वतन्त्रता दिन्छु भन्दै धम्काउँदै गोली चलायो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्