चार लाखको कारण अहमदको हत्या



काठमाडौं : बङ्गलादेशी नागरिक मोहिद्दिन अहमद परवेजको आर्थिक लेनदेनमा भएको विवादका कारण हत्या भएको खुलेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुले आज यहाँ पत्रकार सम्मेलन गरी काठमाडौँमा भएको अहमदको हत्याको कारण विदेश लाने भनेर लिएको चार लाख रुपैयाँ भएको खुलाएको छ ।

हत्या प्रकरणका मुख्य आरोपित दुला मियाँलाई प्रहरीले बुधबार राति काँकरभिट्टाबाट पक्राउ गरेसँगै हत्याको कारण खुलेको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘मृतकले मियाँलाई लेवनान पठाउने भनेर ३ लाख टाँका (नेपाली ४ लाख ३ हजार) लिएका रहेछन् ।

तर, काठमाडौंमा भिषा नलागेपछि भएको विवादमा अहमदको हत्या भएको हो ।’ यसअघि ७ माघमा सोल्टीमोडको होटल ग्राण्ड भिलाको कोठा नं ११४ मा अहमदको शव भेटिएको थियो ।

अघिल्लो दिन हिमालय एयरलाइन्समार्फत सँगै काठमाडौं आएका दुई जनाबीच विवाद हुँदा विस्कीको बोतल प्रहार गरेर अहमदको हत्या गरेको मियाँले स्वीकारेका छन् । –रासस

प्रतिक्रिया दिनुहोस्