केरुङ जान १५ दिने अस्थायी प्रवेश अनुमति



रसुवा : रसुवागढी नाका हुँदै  चीनको केरुङ जाने कन्टेनर चालकले १५ दिने अस्थायी प्रवेश अनुमति पाउने भएका छन् । नेपाल–चीनका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीबीच रसुवागढीमा सम्पन्न सीमा सुरक्षा बैठकले सीमा जिल्लाबाहेकका कन्टेनर चालकलाई १५ दिने अस्थायी अनुमति दिने निर्णय गरेको हो ।  

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार चीनसँग सिमाना जोडिएका जिल्लाबाहेकका अन्य जिल्लाका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफारिसमा चिनियाँ अध्यागमनले अस्थायी अनुमति दिने द्विपक्षीय सहमति भएको छ जसका लागि राहदानी चाहिनेछ ।

राहदानीवाहक कन्टेनर चालकले अध्यागमन कार्यालय रसुवागढीको सिफारिसमा रसुवागढीस्थित चिनियाँ अध्यागमनबाट १५ दिनका लागि अस्थायी प्रवेश अनुमति पाउनेछन् । १५ दिनपछि अध्यागमन कार्यालयको सिफारिसमा पुनः अस्थायी प्रवेश अनुमति नवीकरण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । त्यसका लागि भने प्रक्रिया तत्कालै सुरु हुने उनको भनाइ छ । 

बैठकले आगामी दिनमा चीनसँग सिमाना जोडिएका जिल्लाबाहेकका व्यापारीको सहज प्रवेश अनुमतिका लागि पनि प्रक्रिया अगाडि बढाइने निर्णय गरेको पौडेलले बताए । एउटा कन्टेनरका चालक र सहचालक गरी दुईजनाले चीनको केरुङसम्म सहज प्रवेश अनुमति पाउनेछन् । 

रसुवागढीमा भएको बैठकमा नेपालका तर्फबाट रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललगायत सुरक्षा अधिकारी र चिनियाँ पक्षबाट जनवादी गणतन्त्र चीनको केरुङस्थित फ्रन्टायर इन्स्पेक्सन स्टेसनका मेजर कर्नेल गाओ हुइहाईसहित सुरक्षा अधिकारीहरूको सहभागिता थियो ।  

रसुवागढी नाकाबाट केरुङ जानका लागि रसुवाका नागरिकले मात्र एक वर्षका लागि नेपाल–चीन आगमन प्रस्थान अनुमतिपत्र (चाइना पास) पाउने गरेका छन् । वानडे पासको व्यवस्था नहुँदा रसुवा जिल्लाबाहिरका व्यापारीलाई व्यापार–व्यवसाय गर्न असहज भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्