राजपासँग एकता गर्न आतुर रहेको समाजवादी पार्टी अध्यक्ष यादवको भनाइ



काठमाडौं : नेपाल मधेसी निजामति कर्मचारी मञ्चको १३ औं स्थापना दिवस सम्पन्न भएको छ । शुक्रबार राष्ट्रिय जनता पार्टी (राजपा)को केन्द्रीय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रमका बीच स्थापना दिबस सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै राजपाका संयोजक महेन्द्र राय यादवले स्थापना दिबसको अवसरमा शुभकामना व्यक्त गर्दै निजामति कर्मचारीमा मधेसी समुदायको सहभागिता कम भएपनि प्रतिनिधित्व गर्ने कर्मचारी हुनलाई पनि गर्व गर्नुपर्ने बताएका छन् ।

यसैबीच उनले समाजवादी पार्टीसँग एकता गरेर अगाडि बढ्ने राजपाको योजना रहेका पनि उल्लेख गरे । उनले वर्तमान सरकारको कामको विरोध गर्दै जनताको भावनाअनुरुप काम गर्न नसकेको बताए ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाल मधेसी निजामति कर्मचारी मञ्चको स्थापनाको योगदानको कदर गर्दै मञ्चका अध्यक्षलाई बधाई दिएका छन् । साथै, उनले उक्त मञ्चलाई अझै सशक्त बनाएर लैजाने विश्वास व्यक्त गरे । उनले स्थापना कालको स्मरण गर्दै आफ्नो मेहेनत र परिश्रमको कारण उक्त मञ्चप्रति आफ्नो लगाव रहेको उल्लेख गरे ।

यादवले राजपा र समाजवादी पार्टीबीचको एकताको विषयमा बोल्दै आफूहरु ले सरकार छोडेपनि राजपाका नेताहरुले एकताको बारेमा चासो नदेखाएको आरोप लगाए । उनले राजपाको नेताहरु भाग्दै हिँडेको पनि बताए । उनले समाजवादी पार्टी एकताको लागि सकारात्मक रहेको बताए । उनले भने, ‘हामीले सरकार छोडेको भोलिपल्टै फ्याट्टै एकता भइहाल्छ भन्ने सोचका थियौं तर उहाँहरु एकताको विषयमा बोल्नै छोड्नुभयो ।

कार्यक्रममा मञ्चका अध्यक्ष भुवनेश्वर चौधरी, आधिकारिक ट्रेड युनियनका अध्यक्ष पूर्णप्रसाद ढकाल, नेपाल सरकारकी सह–सचिव विन्दु मिश्रा, केन्द्रीय उपाध्यक्ष लगायतका पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्