हुथीको आक्रमणमा गुप्तचर अधिकारी मारिए



दुबई: यमनका वरिष्ट गुप्तचर अधिकारी ब्रिगेडियर जनरल सालेह तमाहको हुथी विद्रोही समूहले गरेको ड्रोन आक्रमणबाट मृत्यु भएको छ ।स्वास्थ्य अधिकारीका अनुसार यमनको सबैभन्दा ठूलो हवाई अखडामा हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणका क्रममा उनी गम्भीर घाइते भएका थिए ।

यमनको अल–अनन्द हवाई अखडामा सैनिक परेड भइरहेका बखत गत बिहीबार हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणबाट गुप्तचर निकायका ब्रिगेडियर जनरल सालेह तमाहा गम्भीर घाइते भएका थिए । सरकार नियन्त्रित सैनिक अखडा यमनको दोस्रो ठूलो सहर एडेनबाट करिब ६० किलोमिटर उत्तरको लाहिज प्रान्तमा रहेको छ ।

स्वास्थ्य अधिकारीले सख्त घाइते तमाहाको एडेनस्थित अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जनाएका छन् । सो आक्रमणबाट तमाहा समेतका सात जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । संयुक्त राष्ट्र संघको पहलमा भएको युद्धबिरामलाई नै यो आक्रमणले संकटमा पार्ने अनुमान गर्न थालिएको छ ।

आक्रमणमा घाइते भएकाहरुमा यमनका सैनिक उप प्रमुख सालेह अल–जन्दानी, वरिष्ट सैनिक कमान्डर फादेल हसन र लाहिजका गभर्नर अहमद अब्दुल्लाह अल–तुर्की रहेका छन् । एकजना यमेनी अधिकारीले तुर्की र जन्दानीलाई थप उपचारका लागि साउदी अरब लगिएको बताएका छन् । आक्रमणप्रति राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघले युद्धरत दुबै पक्षलाई धैर्य र संयम अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्