बार्सिलोनाको सहज जित, मेस्सीको ४००औं गोल



एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एइवारमाथि ३–० को सहज जित निकालेको छ । कप्तान लियोनेल मेस्सीले  ला लिगामा बार्सिलोनाको लागि ४००औं गोल पनि पुरा गरे ।  

घरेलु मैदानमा आइतबार राति भएको खेलमा अन्य दुई गोल लुइस स्वारेजले गोल गरे । 

खेलको १९औं मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले अग्रता लियो । पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थप्यो । 

५३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गरेपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो । 

५९औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १९ खेलबाट ४३ अंक बनाएको छ ।

बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई ५ अंकले पछि पारेको छ । आइतबार राति नै भएको खेलमा एट्लेटिकोले लेभान्टेलाई १–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्