दुई वर्षमा प्रदेशसभाको बलियो जग बसाल्ने काम भयो : सभामुख घर्ती



बुटवल : प्रदेश ५ प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको बलियो जग बसाल्ने काम दुई वर्षमा सफलतापूर्वक सम्पन्न भएको बताएका छन ।

संसदीय पत्रकार समाज प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा उनले चुनौतीलाई समाधान गर्दै सबैको सहयोगबाट जिम्मेवारीलाई निर्वाह गर्न सफल भएको जानकारी दिए ।

प्रदेशसभामा पहिलो हुने दौडभन्दा अधिकतम राम्रो बनाउने प्रयत्नका साथ काम गर्ने प्रयासमा रहेको सभामूख घर्तीले उल्लेख गरे । उनले प्रदेशसभाबाट बनेका कानून जनपक्षीय भए/नभएको विषय कार्यान्वयनबाट देखिने र दुई वर्षको अवधिमा कानून निर्माणसँगै सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध सुमधुर कायम राख्नसक्नु उपलब्धि भएको बताए ।

“पूर्वाधारको मात्र हैन प्रदेशसभामा शपथमा राष्ट्रिय झण्डासमेत थिएन”, सभामुख घर्तीले भने, “त्यस्तो अवस्थाको प्रदेशसभाको संरचना अहिले आएर पूर्वाधारमा उल्लेख्य काम भएको छ ।”

उपसभामुख कृष्णी थारुले प्रदेश नं ५ लाई कस्तो बनाउने भन्ने विषयमा संसद्को ध्यान केन्द्रित भएको बताए । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कानून सङ्ख्या बढाउनेभन्दा कार्यान्वयनले परिणाम देखिने बताए ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का कार्यवाहक अध्यक्ष भरत केसीले प्रदेशसभाको जनपक्षीय कानून निर्माणमा ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । अधिवक्ता महेन्द्र पाण्डेले प्रदेशसभाले कानून निर्माणमा उत्कृष्टता देखाए पनि कार्यान्वयनमा नागरिक आवाज मुखरित हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा सभामुख घर्तीलेसमाजले प्रकाशित गरेको प्रदेशसभाका सदस्यको पूर्ण परिचयसहितको पुस्तिकाको विमोचन गरेका थिए । विसं २०७४ माघ २१ गते पहिलो बैठक बसेको प्रदेश नं ५ प्रदेशसभाले माघ २१ गतेलाई प्रदेशसभा स्थापना दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्